१९ बैशाख २०७९, सोमबार

धादिङ । गत स्थानीय तहको निर्वाचन- २०७४ मा नेकपा (माओवादी केन्द्र) सँगको तालमेलमा गाउँपालिका अध्यक्ष जितेको नेपाली कांग्रेसले त्यतिबेला गाउँपालिकाभित्रका ७ वटा वडामध्ये २ वडामा विजय हासिल गरेको थियो । नेपाली कांग्रेसले चुनाव जितेको वडा नं. २ र वडा नं. ४ का दुवै अध्यक्ष यसपटक पुनः वडा अध्यक्ष पदमै बागी उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको वडा नं. २ र आधारभूमी रहेको वडा नं. ४ मा निवर्तमान वडा अध्यक्ष नै बागी उम्मेदवार बन्दा यसपटक कांग्रेसलाई चुनाव जित्न फलामको चिउरा चपाउनुजस्तो भएको छ ।

ज्वालामुखी गाउँपालिका वडा नं.– २ का निवर्तमान वडा अध्यक्ष रणबहादुर शाही ठकुरीले पार्टीका आधिकारिक उम्मेदवार राजु लोप्पाको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् भने वडा नं. – ४ का निवर्तमान वडा अध्यक्ष कृष्णबहादुर गुरुङले पार्टीका आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठको विरुद्धमा बागी उम्मेदवारी दिएका छन्।पार्टीकै उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका वडा अध्यक्षद्वयलाई नेपाली कांग्रेस, धादिङले उम्मेदवारी फिर्ता लिन पटकपटक आग्रह गरे पनि दुवै जनाले उम्मेदवारी फिर्ता लिन मानेनन् ।

टिकट वितरणका समयमा पार्टीले बेवास्ता गरेको र स्थानीय स्तरमा निर्णय नभई सिधै पार्टीको जिल्ला कार्यसमितिले आफू नजिकका व्यक्तिलाई टिकट दिएकोले विद्रोहमा उत्रिन बाध्य भएको वडा नं. २ का बागी उम्मेदवार शाहीले बताए। ‘व्यक्ति नै फेर्ने भएपनि पहिलो पुस्ताका पार्टीमा योगदान गरेका र भूगोलमै सक्रिय रहेका व्यक्तिलाई दिनुपर्नेमा एकैचोटी नयाँ अनुहारलाई टिकट दिएको विरुद्ध मेरो विद्रोह हो,’ शाहीले भने। आफू वडा अध्यक्ष हुँदा सुरु भएका राम्रा कामको निरन्तरताका लागि पनि एक पटक दोहोर्‍याउन चाहेको उनको भनाई छ। शाहीले पुतली चुनाव चिन्ह पाएका छन्।

त्यस्तै , वडा नं. ४ बाट बागी उम्मेदवार रहेका गुरुङले पनि कांग्रेस भित्रकै तानाशाही प्रवृत्ति सहन नसकेर आफुले स्वतन्त्र उम्मेदवारी कायम गराएको बताए । उनले भने , “नेपाली कांग्रेस अब विधि र नीतिमा चल्ने पार्टी रहेन, कांग्रेसभित्रकै तानाशाही व्यवहार र नजिकका व्यक्तिलाई टिकट वितरण गरेको विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी हो। मेरो विगतको कामलाई मतदाताले नजिकबाट हेरेका छन् र फेरि पनि आउनुपर्छ भनेका छन् ।”

जनभावनाको कदर गर्नकै लागि पनि उम्मेदवारी दिनु परेको उनले बताए। स्थानीय स्तरमा लोकप्रिय रहेका र वडा अध्यक्षको रुपमा पनि तुलनात्मकरुपमा सन्तुलित कार्य गरेका गुरुङ स्वच्छ छवि भएका जनप्रतिनिधि मानिन्छन् । उनी नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार कृष्णलाल श्रेष्ठभन्दा हरेक हिसाबले अब्बल देखिएका छन् । आफ्नो पाँच वर्षे कार्यकालमा जनताको मन जित्न सफल भएका गुरुङलाई वडाका पार्टी नेता , कार्यकर्ता तथा आम जनताको पनि सकारात्मक साथ र सहानुभूति देखिएको छ । जनतालाई घरदैलोमा पुगि सेवा दिनु , काठमाडौं , पोखरा , चितवन लगायतका क्षेत्रमा पुगि वडाबासीको सामाजिक सुरक्षा भत्ता लगायतका सेवा प्रवाह गर्नु , समन्वयकारी भूमिका निर्वाह गर्नु , विवादमा नपर्नु , सदाचारीता निर्वाह गर्नु जस्ता कार्यले उनले जनताको मन जित्न सफल भएका छन् ।वडाका कांग्रेस कार्यकर्ता खुलेरै गुरुङको पक्षमा भोट मागिरहेका छन् ।

वि. सं. २०४९ सालको स्थानीय निकायको निर्वाचनमा अहिलेका वडाध्यक्षका उम्मेदवार कृष्णलाल श्रेष्ठले पार्टीका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठका विरुद्धमा बागि उम्मेदवार बनेर जित पनि हासिल गरेका थिए । उनी वि. सं. २०५४ को स्थानीय निकायको निर्वाचनमा ढोला गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको गाउँ समिति सभापति समेत रहिसकेका श्रेष्ठ पार्टीकै आडमा बिसौँ वर्षदेखि केन्द्रीय खानेपानी उपभोक्ता समिति, ढोलाको अध्यक्ष तथा साना किसान सहकारी संस्था लि. , ढोलाको आजिवन अध्यक्षजस्तै बनेका छन् ।

तीस वर्षदेखि नेपाली कांग्रेस , ढोलामा एउटै व्यक्तिको हालिमुहाली रहनु , पद/सेवा/सुविधा आफैंले मात्रै लिइरहनु तथा जिल्ला पार्टीले पनि त्यस्तै व्यक्तिलाई टिकट दिएकाले आम सच्चा कार्यकर्ता र जनताको भावनाको सम्मान गर्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको गुरुङ बताउँछन् । उनी भन्छन्- “फेरि वडाध्यक्षमा दोहोरिने मेरो रहर होइन । नयाँ व्यक्ति उम्मेदवार भएको भए म उम्मेदवार बन्ने थिइन । तर , पार्टीले स्थानीय कार्यकर्ताको भावना विपरीत , छलफलै नगरी , तिसौँ वर्षदेखि अवसर लुटिरहेको व्यक्तिलाई नै टिकट दिनु दुर्भाग्य हो । मेरो उम्मेदवारी जनता/कार्यकर्ताको भावना र व्यक्तिवादी/अवसरवादी प्रवृत्तिका विरुद्ध हो ।”

अहिलेका सचेत जनता/कार्यकर्ता पार्टीको लगाममा बाँधिएर होइन , स्वतस्फूर्तरुपमा विवेकको मत प्रयोग गर्न सक्षम रहेको गुरुङ बताउँछन् । ढोलामा जसरी २०४९ सालमा अहिलेका वडा अध्यक्षका उम्मेदवार कृष्णलाल श्रेष्ठले स्वतन्त्र उठेर पार्टीका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई हराएका थिए । अहिले तीस वर्ष पछि उनै कृष्णलाल श्रेष्ठ पार्टीको आधिकारिक उम्मेदवार बनिरहँदा तीस वर्ष अघिको घटना दोहोरिएर स्वतन्त्र उम्मेदवार निवर्तमान वडा अध्यक्ष कृष्णबहादुर गुरुङले जित निकाल्ने जानकारहरू बताउँछन् ।
गुरुङले खरायो चुनाव चिन्ह पाएका छन् ।

यो निर्वाचनमा सत्तारुढ कांग्रेसभित्र सबैभन्दा धेरै किचलो देखिएको छ। ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता दिनेशरमण आचार्यले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का पुराना तथा प्रभावशाली नेता धर्मबहादुर अर्यालका विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । उनले चुनाव चिन्ह आँप पाएका छन् ।

ज्वालामुखी गाउँपालिकामा मात्रै होइन , जिल्लाभरि नै बागी उम्मेदवारको बिगबिगी रहेको छ । जिल्ला सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेस , धादिङकी चर्चित महिला नेत्री कल्पना अधिकारीले नेपाली कांग्रेस र नेकपा ( माओवादी केन्द्र ) का साझा उम्मेदवार नेकपा ( माओवादी केन्द्र ) , धादिङका नेता दिपक विश्वकर्माका विरुद्धमा बागी उम्मेदवारी दिएकी छिन् । अधिकारीको चुनाव चिन्ह गुलाफको फूल रहेको छ । अधिकारीले गत स्थानीय तहको निर्वाचनमा पनि पार्टीको निर्देशनमा तत्कालीन गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र ) का नेता मनराज भण्डारी ( शैलेश ) लाई उम्मेदवारी छोडेकी थिइन् । जसमा गठबन्धनका प्रमुख र उपप्रमुख दुवै उम्मेदवारले चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV