१९ बैशाख २०७९, सोमबार
  • अनमोल कार्की

रौतहट । यही बैशाख १६ गते राति करिब ११ बजेतिर रौतहतको चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर चोकको पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेर पैदल यात्री ४४ वर्षिय यज्ञ प्रसाद गौतम (हरी)को ज्यान गयो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि रहेको पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको नम्बर नखुलेको स्कार्यपियोले ठक्कर दिदाँ चन्द्रपुर ४ निवासी गौतमको घटना स्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने स्कारपियो भने फरार रहेको छ । इलाका प्रहरी कार्यालय अगाडिनै गाडीले ठक्कर दिँदापनि प्रहरीले ठक्कर दिने गाडीलाई समात्न सकेको छैन । यसको बिरोधमा मृतकका आफन्त सहित स्थानीय आईतबार देखिनै प्रहरीबिरुद्ध आन्दोलन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । प्रहरीको आँखा अगाडि दुर्घटना हुँदा पनि गाडी समात्न नसक्नु दुःखद् भएको मृतकको प्रेमलाल ढकाल बताउँछन् ।

इलाका प्रहरी कार्यालय अगाडि भएको घटनाको ४ दिन बितिसक्दा पनि ठक्कर दिने सवारी समात्न नसक्नु प्रहरीको कमजोरी रहेको स्थानीयको आरोप छ ।

२४ सै घण्टा व्यस्त रहने चन्द्रनिगाहपुर चोकको पूर्वपश्चिम रामजमार्ग त्यसमाथि प्रहरी कार्यालय अगाडि घटना घटाएर सवारी कसरी फरार हुनसक्यो भन्ने स्थानीयको प्रश्न छ ।

उनीहरुले प्रहरी चौकी अगाडि तथा चन्द्रनिगाहपुर मेन चोकमा ड्युटिमा बसेका प्रहरीले किन दुर्घटना गराउने सवारीलाई समात्न सकेनन् भन्दै आक्रोश व्यक्त गरेका छन् ।

हाल मृतकको शव चन्द्रनिगापुर अस्पतालमा शव घरमा राखिएको छ । मृतका आफन्त भने प्रहरीले दोषीलाई पक्राउ नगरुन्जेलसम्म शव नबुझ्ने अडानमा छन् ।

‘हामी अपराधी पत्ता नलागुन्जेल शव बुझ्नेवाल छैनौँ’ मृतककी श्रीमती निरु गौतम भन्छिन्, ‘प्रहरीको आँखा अगाडि घटना घटेको छ तर प्रहरीले देखिन भन्छ , यो कसरी सम्भव छ ? प्रहरीले चाहेको भए त्यहीँ दिन गाडी समातिन्थ्यो।’

यता प्रहरी भने आफूहरुले अनुसन्धानमा कुनै पनि कसर बाँकी नराखेको चाँडै ठक्कर दिने सवारी पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रहरी नायव उपरिक्षक इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका सन्तु प्रसाद जयसवालले पथलैयादेखि बर्दिबाससम्मको विभिन्न स्थानका सिसी टिभी क्यामेराहरुके फुटेज ल्याएर सुक्ष्म अनुसन्धान गरिरहेको र अब चाँडै दोषी पक्राउ पर्ने बताए ।

चन्द्रनिगाहपुरमा चन्द्रपुर नगरपालिकाले करिब ५० लाख खर्च गरेर विभिन्न स्थानहरुमा सिसी क्यामेरा जडान गरेको छ ।

दुर्घटना भएको स्थलमा पनि दुइवटा सिसी क्यामेरा छन् । तर दुर्घटना भएको दिनको दृश्य भने सो क्यामेरामा कैद भएको छैन या रेकर्ड भएको पनि हटाइयो ।

घटना भएको समयमा समयमा आँधीहुरीका कारण लाइन गएको र लाइन गएपछि क्यामेराले काम नगरेका घटना घटाउने गाडीको नम्बर खुलाउन गाह्रो भएको प्रहरीको दाबी छ ।

यस्तै असहज परिस्थितिमा काम लाग्छ भनेर राज्यको लाखौँ लगानिमा राखिएको सिसी क्यामेराले लाइन नभएको बेला काम नगर्दा देखाउने भाँडो मात्र भएको स्थानीय सन्तोष पाख्रिनको भनाइ छ ।

लाइन भएको बेला चल्ने नभएको बेला नचल्ने भएपछि सिसी क्यामेराको महत्व नभएको र यसमा पनि घोटला भएको हुनसक्ने उनको आरोपछ ।

नगरपालिकाले हतारमा व्याट्री व्याकप बिनाको सिसी क्यामेरा जडान गरेपछि लाइन गएको समयमा कुनै घटना घटे कुनै सुचना सो क्यामेरा बाट प्राप्त नहुने अवस्था आएको हो ।

प्रहरीले नगरपालिकाले राखेको सिसी क्यामेराले काम नगरेपछि प्रहरी नजिकै रहेको होटल तराइ इनको क्यामेराको मद्धत ठक्कर दिने गाडीको प्रकार पत्ता लगाए पनि नम्बर भने सो क्यामेरामा कैद भएको छैन ।

मृतकका आफन्त तथा स्थानीयले भने प्रहरीको ढिलासुस्ती भएको भन्दै २४ घण्टा भित्र ठक्कर दिने गाडी पत्ता नलागे थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV