१७ बैशाख २०७९, शनिबार

काठमाडौं । माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले आफैले बजेट विनियोजन गरेर आफ्नै निर्माण कम्पनीलाई ठेक्का पार्ने गरेको पाइएको छ । उनले पालिकाको अध्यक्ष भएको पहिलो वर्षमै यस्तो गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा आफैले गाउँसभाबाट बजेट विनियोजन गरेर आफ्नै कम्पनीलाई ठेक्का पारेको देखिएको छ । उनले उक्त आर्थिक वर्षमा ३३ लाख ९९ हजार ८ सय ३७ रुपैयाँ ५५ पैसा बराबरको ठेक्का आफ्नै कम्पनीलाई पारेका थिए ।

बुद्धिकिरण राई

एस. कन्सट्रक्सन नामक उनको कम्पनी र माप्य दूधकोशी गाउँपालिकाबीच २०७४ चैत ३ गते भएको द्विपक्षीय सम्झौताअनुसार माथि उल्लेखित रकम बराबरको ठेक्का सम्झौता भएको थियो । अध्यक्ष राईको उक्त कम्पनि २०७३ असार ५ गते तत्कालीन जिल्ला विकास समिति, सोलुखुम्बुमा दर्ता भई इजाजत जारी भएको थियो ।

कम्पनीको प्रोपाइटर रहेका बुद्धिकिरण राई २०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माप्य दूधकोशी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । त्यसअघि शिक्षण पेशामा रहेका राईले एमालेका तत्कालीन इलाका इन्चार्ज दिनेश कुमार राईलाई पछि पार्दै गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेपछि सक्रिय राजनीतिमा हाम फालेका हुन् ।

निर्वाचन सम्पन्न भएलगत्तै गाउँपालिकाको गाउँसभाबाट सिलगुरी–वासा सडक खण्डको स्तरोन्नतिका लागि एक करोड बजेट विनियोजन भएको थियो । सोही बजेट कार्यान्वयन गराउनका लागि राईले गुपचुप ढंगबाट विज्ञापन खुलाई आफ्नो कम्पनीलाई ठेक्का पारेका थिए ।

विज्ञापन खुलाइएको सबै पत्रिका राईद्वारा जफत

उदयपुर जिल्लाको गाइघाटबाट प्रकाशित हुने त्रियुगा एक्सप्रेस राष्ट्रिय दैनिकमार्फत विज्ञापन खुलाइएको थियो । तर, उक्त दिन प्रकाशित पत्रिकाको सम्पूर्ण प्रति राई आफैंले जफत गरि अन्य निर्माण व्यवसायीहरुलाई विज्ञानबारे थाहा नदिई आफ्नो कम्पनीलाई ठेक्का पारेका हुन् ।

राईले आफ्नो कम्पनीमार्फत् कार्य गराएका भएपनि ठेक्काको सम्झौता–पत्रमा भने प्रताप राईलाई हस्ताक्षर गराएका छन् । उनले आफू बच्नका लागि प्रतापलाई हस्ताक्षर गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV