१६ बैशाख २०७९, शुक्रबार

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणा पत्रमा घरघरमा रोजगारी, प्राथमिक शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणको कामलाई तीब्रता दिने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको पार्टीका अध्यक्ष ठाकुरले जानकारी दिए । उनले सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका जनजीवनको सुरक्षा गर्नुपर्ने कुरालाई पनि घोषणा पत्रमा प्राथमिकता दिइएको स्पष्ट पारे ।

घोषणा पत्रमा आर्थिक समानता र स्वतन्त्रता हुनुपर्ने पनि भनिएको छ । अध्यक्ष ठाकुरले भने, ‘आर्थिक समानता र स्वतन्त्रता छैन भने असन्तोष पैदा हुन्छ र त्यसले आन्दोलन विष्फोट गराउन सक्छ । त्यसैले आर्थिक रुपमा समानता र स्वतन्त्रता उपभोग सबै नागरिकले गर्न पाउनुपर्छ । त्यसका लागि राजनीतिक स्थायित्व चाहिन्छ । संक्षेपमा भन्न चाहन्छु–हामी सीमावर्ती प्रदेशका हौं ।’

उनले थपे, ‘त्यहाँ, घर–घरमा शिक्षा, रोजगारी, स्वास्थ्यको उचित व्यवस्था हुनुपर्छ । त्यसैगरी खानेपानी र विकास, निर्माणको कामलाई पनि तीब्रता दिनुपर्ने हुन्छ । घोषणा पत्रमा मूलतः यिनै कुरामा जोड दिइएको छ । मधेशमा देखिएको असन्तुष्टिलाई सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्छ ।’

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

जनकपुरलाई अन्तराष्ट्रिय स्तरको प्रदेश राजधानी बनाउने, वीरगंजलाई नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगञ्जलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने, लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरुको लागि अन्तराष्ट्रिय तीर्थस्थल र ध्यान केन्द्र बनाउने कुरा पनि घोषणा पत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV