१६ बैशाख २०७९, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउन डर, धाक धम्की, धरपकड र प्रलोभन देखाउने काम नगर्न सबै दललाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति नै जारी गरेर कानून र लोकतन्त्र माथि आघात पुर्‍याउने खालका यस्ता हर्कत् नगर्न÷ नगराउन आयोगले सरोकारवालाहरु सबैप्रति आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभिन्न दलका शीर्ष नेताहरु उपत्यका भित्र र बाहिर पुगेर बागी उम्मेदवार तथा स्वतन्त्र रुपमा उठेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लबिङमा जुटिरहेको बेला आयोगे उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । निर्वाचन प्रणालीमा नेपाली नागरिकले भाग लिन पाउने अधिकार रहेको भन्दै उम्मेदवारी फिर्ता लिन धाक धम्की, डर नदेखाउन आयोगले भनेको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुर्‍याउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV