१६ बैशाख २०७९, शुक्रबार

एजेन्सी । बौद्धिक अपाङ्गता भएको कारण देखाउँदै माफीका निम्ति याचना गरेका एक मलेशियाली लागुऔषध तस्करलाई सिङ्गापुरमा मृत्युदण्ड दिइएको छ ।

सिङ्गापुरभित्र झन्डै तीन चम्चा हेरोइन तस्करी गर्न खोज्दा पक्राउ परेका नागेन्द्रन धर्मलिङ्गम सन् २०१० देखि नै मृत्युदण्ड पाउने कैदी सूचीमा थिए । एक्काइस वर्षको हुँदा सन् २००९ मा नागेन्द्रन हेरोइनसहित पक्राउ परेका थिए ।

चिकित्सकीय विज्ञहरूले नागेन्द्रनको आईक्यू अर्थात् बौद्धिक क्षमता कम भएको पुष्टि गरेपछि उनको मुद्दा निकै विवादास्पद बनेको थियो । तर त्यहाँको सरकारले उनी ‘आफ्नो कार्यको प्रकृतिबारे स्पष्ट रूपमा जानकार’ रहेको ठहर गरेको थियो ।

त्यहाँको सरकारले विज्ञप्ति जारी गर्दै उनले ‘आफूले गरिरहेको काम उचित वा अनुचित के हो भन्ने छुट्याउने विवेक उनले नगुमाएको’ बताएको थिए ।

उनकी आमाले गरेको अन्तिम अपील मङ्गलवार खारेज भएपछि नागेन्द्रनलाई मृत्युदण्ड दिइएको हो । अदालतले उनलाई ‘उचित कानुनी प्रक्रिया’मा लगिएको र ‘करिब ११ वर्षको अवधिमा अपील गर्ने अधिकार र कानुनअन्तर्गतका अन्य कुनै उपाय बाँकी नरहेको’ जनाएको छ ।

मङ्गलवार भएको सुनुवाइको अन्त्यतिर नागेन्द्रन र उनका परिवारजन हात समात्न सिसाले घेरेको खाली स्थानमा पुगेको रोएटर्समा उल्लेख गरिएको छ। उनले ‘आमा’ भन्दै चिच्याएको अदालतको कोठासम्म प्रष्ट सुनिन्थ्यो ।

सिङ्गापुरको सरकारले उनकी आमाको अपीलमा आक्रोशित प्रतिक्रिया जनाएको थियो ।महान्यायाधिवक्ताको कार्यालयबाट जारी विज्ञप्तिमा उक्त अपील मृत्युदण्ड प्रक्रियालाई ढिलो पार्ने अनुचित प्रयास भएको उल्लेख गरिएको छ ।
अधिकारीहरूले आवेदन तयारीमा संलग्न भएकाहरूलाई कारबाहीको चेतावनी समेत दिएका छन् ।

सन् २००९ मा उनी आफ्नो देब्रे तिघ्रामा ४३ ग्राम हेरोइन बाँधेर मलेशियाबाट सिङ्गापुर जाँदै गर्दा पक्राउ परेका थिए । संसारको सबैभन्दा कडा मानिने सिङ्गापुरको लागुऔषध कानुनअन्तर्गत १५ ग्रामभन्दा बढी हेरोइन बोकेको व्यक्तिलाई मृत्युदण्ड दिइन्छ ।

सुनुवाइका क्रममा ३४ वर्षीय नागेन्द्रनले आफूलाई लागुपदार्थ बोक्न बाध्य पारिएको बताएका थिए। पछि उनले पैसाको लागि अपराध गरेको स्वीकार गरे ।

अदालतले उनको प्रारम्भिक बयान झुटो भएको बताएको छ । अन्ततः उनलाई झुन्डाएर मृत्युदण्ड दिइयो । बीबीसी

प्रतिक्रिया दिनुहोस्
LIVE TV