१५ बैशाख २०७९, बिहीबार

खोटाङ । चुनाव हार्दा त यति धेरै धाक धम्कि, फुर्ति छ, चुनाव जिते झन् कति फुर्ति गर्लान् ? चुनावअघि अस्पतालको ३ ट्याक्टर ढुंगा ट्वाइलेट बनाउन घर ओसार्नेले चुनावपछि कति ट्याक्टर ढुंगा ओसार्लान् ? अरु के–के ओसार्ने हुन् ? अब, सबैले थाहा पाई–पाई फेरि यो चुनावमा उनैलाई भोट हालौं ? यो प्रश्न हो, हलेसी तुवाचुङ नगरपालिका–७ का बासिन्दाको ।

प्रसंग हो, हलेसी तुवाचुङ नगरपालिका हलेसी वडाको । यही बैशाख ३० को स्थानीय चुनावमा २०७४ मा हारेका कांग्रेसी कमल गिरी फेरि वडाध्यक्षका प्रत्यासी छन् । उनीसँगै वडा सदस्यमा एगिन्द्र राई पनि मैदानमा उत्रिएका छन् । एगिन्द्र पनि कांग्रेसी नै हुन् ।

यो समाचार यी दुई कांग्रेसी उम्मेदवारकै हो । जस्ले हस्पिटलको ढुंगामा आँखा तरेर निजी विलासीका लागि प्रयोग गरे । एक शीर्षकमा मागेको ढुंगा अर्काे शीर्षकमा प्रयोग गरेपछि विस्तारै घटनाले नयाँ रुप लियो । एक कान दुई कान हुँदै यो घटना खरमा लागेको आगोसरी फैलिएको छ ।

यस्तो छ घटना । कमलले हस्पिटल बनाउने ठेकेदारसँग हस्पिटल बनाउन थुप्राइएको ढुंगा बाटो निर्माणका लागि मागे । ठेकेदारले पनि बाटो बनाउनकै लागि हो भने लैजानु भनेर हुन्छ भनिदिए । ठेकेदारले मानेपछि कमलले एगिन्द्रलाई ढुंगा लिन ट्याक्टरमा पठाए । र, ढुंगा लिन गए एगिन्द्र ।

ढुंगा लिएर आएका एगिन्द्रले ट्याक्टर बाटो बनाउनतिर नलगेर घरतिर सोझ्याए । घरमा लगेर एक ट्याक्टर ढुंगा झारेपछि फेरि हस्पिटलतिरै ढुंगा लिन हिँडे । एक ट्याक्टर ढुंगा मागेको ठाउँमा एगिन्द्रले ३ ट्याक्टर हस्पिटलको ढुंगा लुकिछिपी ल्याए ।

सुरुमा त हस्पिटलका इन्जिनियरले ढुंगा लैजान रोकिदिए । इन्जियिनरले बाधा गरेपछि एगिन्द्रले तत्काल कमललाई फोन घुमाए । र, कमलले इन्जिनियरलाई फोन गरेर बाटो भत्किएकाले बाटो बनाउन हस्पिटलको ढुंगा ल्याउनै पर्ने बाध्यता सुनाए । कमलको कुरा सुनेपछि इन्जिनियर पनि पग्लिए र ढुंडा लैजान एगिन्द्रलाई अनुमति दिए । तर, एगिन्द्रले मौकामा चौका हाने, एक ट्याक्टरको ठाउँमा तीन ट्याक्टर ढुंगा हस्पिटलबाट उठाइदिए ।

हस्पिटल बनाउनका लागि राखिएको ढुंगा निजी प्रयोगका लागि लगिएको भन्ने थाहा पाएपछि हस्पिटलकै एक कर्मचारीले घटनाको पर्दाफास गरिदिने भनेपछि कमलले जागिर खाइदिने धम्कि दिए । तर, ती कर्मचारी एक कदम पछि हटेनन्, सत्य कुरा बाहिर ल्याउनै अग्रसर भए ।

हस्पिटलको ढुंगा सेफ्टि ट्यांकीमा

अहिले हस्पिटलको ढुंगाले एगिन्द्रको चिटिक्कको ट्वाइलेट बनिसकेको छ । बाटो बनाउन लैजाने भनिएको ढुंगा ट्वाइलटको सेफ्टि ट्याङ्कीमा हालेका एगिन्द्र खुबै गद्गद् छन् । कमलको आँडमा उनी निकै ठूलै बहादुरी काम गरेजस्तो गरि हिँड्ने गरेको स्रोत बताउँछ ।

यस घटनाबारे बुझ्न हस्पिटलमा फोन गर्दा त्यहाँका एक कर्मचारीले कमल र एगिन्द्रले हस्पिटललाई दुहुनो गाई बनाएको बताए । उनले भने, ‘भन्न पनि लाज छ, बरु हस्पिटल बनाउन सहयोग गर्नुपर्ने व्यक्तिहरुले उल्टै हस्पिटलको ढुंगा लगेर विलासी जीवनमा प्रयोग गरेका छन् । अहिले उहाँहरु नै फेरि गाउँबासीको सेवा र गाउँ बनाउन चुनावमा उठ्नुभएको छ रे !’

ती हस्पिटलका कर्मचारीको प्रश्न छ, ‘चुनाव नजित्दा त यति साह्रो गर्नेले चुनाव जितेपछि कति साह्रो गर्लान् ?’

प्रतिक्रिया दिनुहोस्
LIVE TV