१५ बैशाख २०७९, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफ्नो संकल्प पत्र सार्वजनिक गरेकी छन् ।

सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको दाबी गर्दै उनले काठमाडौँ महानगरलाई भ्रष्टाचारमुक्त बनाउने संकल्प प्रस्तुत गरेकी हुन् । आफ्नो सबैभन्दा पहिलो काम महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने रहेको उनले बताइन् ।

संकल्प पत्र प्रस्तुत गर्दै उनले भनकी छन्, ‘म मेयर भएपछि महानगरभित्र सबैभन्दा पहिला भ्रष्टाचारमुक्त सेवा र सुविधा दिने वातावरण बनाउनेछु ।’

यसका साथै काठमाडौँमा बारम्बार देखिने फोहोरको समस्यालाई पनि समाधान गर्न नयाँ अवधारणा सहित काम गर्ने उनले बताइन् । साथै काठमाडौँमा फुटपाथको व्यवस्थापन गर्दै हिड्नयोग्य शहर बनाउने र प्रदूषण नियन्त्रण गर्ने लगायन संकल्प उनले प्रस्तुत गरेकी छन् ।

सिंहले  ७ वटा बुँदामा आफ्नो संकल्प प्रस्तुत गरेकी छन् । जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिलालगायत विषयहरू समेटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV