१४ बैशाख २०७९, बुधबार
  • युवराज आचार्य,

झापा । पछिल्लो समय नेपाली मौलिक लोकबाजाहरु लोप हुँदै गएपछि त्यसको संरक्षण र प्रवर्द्धनमा चासो देखाउदै सुर्खेतका एक युवाले महाकाली–मेची पैदल यात्रा सम्पन्न गरेका छन् ।

सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर ४ दशरथपुरका शेरबहादुर आचार्य गाइनेले मौलिक लोकबाजाहरुको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले महाकालीबाट ५० औ दिनमा मेचीसम्मको पैदल यात्रा सम्पन्न गरेका छन् ।

लोक संस्कृति र नेपाली मौलिक बाजाहरु नेपाल र नेपालीहरुको पहिचान हुन् । आचार्यले भने, ‘तिनीहरुको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबै नेपाली नागरिकको दायित्व हो ।’

लोक गायक समेत रहेका ३८ वर्षीय आचार्य गत फागुन २४ गते महाकाली हरिहर घाटदेखि नेपालको राष्ट्रिय झण्डासहित विभिन्न लोकसंस्कृति झल्काउने मादल, सारङ्गीलगायतका बाजा बोकेर पैदल यात्रा शुरु गरेका थिए । उनी बैशाख १४ गते बुधबार ५० औं दिनका दिन मेची पुलमा आइपुग्दै यात्रा समापन गरेका हुन् ।

यात्रा समापन गर्दै पैदलयात्री आचार्यले सारङ्गिको भाकामा चर्चित गायक सुरेश गन्दर्भको सम्झना गर्दै “नेपाली हामि रहौँला कहाँ नेपालै नरहे” र “यो नेपाली शिर उचाली” बोलको राष्ट्रिय गीत गाएका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर ६ का निवर्तमान अध्यक्ष ललितबहादुर तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतो, साहित्य कला प्रेमी तथा होटल व्यवसायी दुर्गाभक्त श्रेष्ठ, सञ्चारकर्मीलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV