१४ बैशाख २०७९, बुधबार

भोजपुर । पाँच दलीय सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिनेलाई नेकपा माओवादी केन्द्र भोजपुरले कारबाही गरेको छ । गठबन्धन तथा पार्टी नीति, निर्णय र निर्देशनविरुद्ध उम्मेदवारी दिने तीन जनालाई माओवादी केन्द्र भोजपुरले पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरेकाे हो ।

नेकपा माओवादी केन्द्र भोजपुरको संयोजक नगेन्द्र भुजेल (शैलेन्द्र)का अनुसार भोजपुर नगरपालिका-११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र षडानन्द नगरपालिका-१३ का ओम कुमार श्रेष्ठलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।

संयोजक शैलेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ- वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रतिगमन विरोधी गठवन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै गठवन्धन भन्दा बाहिरी दलको चुनाव चिन्ह लिई मनोनयन दर्ता गरेको हुँदा नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्कासन गरी कारवाही गरिएको छ ।

पार्टीको नीति, निर्णय र निर्देशन विपरीत विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवार दिनेहरुलाई उम्मेदवारीलाई फिर्ता लिन पनि माओवादीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV