१३ बैशाख २०७९, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका सुशील थापाले काठमाडौंको पुनर्जीवनका लागि काम गर्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले महानगरलाई राजनीतिको फोहरी सट्टा–पट्टाबाट टाढा राखेर पुनर्जीवनका लागि काम गर्ने दाबी गरेका हुन् ।

लामो समय महानगरको बिकासका लागि धेरै काम गर्ने प्रतिबद्धता आएपनि पूरा हुन नसक्नु दुखद् भएको भन्दै उनले अब पार्टीमा सरोकार नराखी महानगरको बिकास गर्नुपर्ने जिकिर गरे । उनले सबै दलहरु एकातर्फ र अर्कोतर्फ आफ्नो स्वतन्त्र उम्मेद्वारी रहेकाले सफल हुने उल्लेख गरे ।

गुणस्तर ब्यवस्थापनको विज्ञको रुपमा समेत रहेका स्वास्थ्यकर्मी थापाले महानगरको आम्दानी तथा खर्च पारदर्शी नभएको गुनासो गर्दै महानगरको ब्यवस्थापनमा इमान्दारिता आवश्यक भएको जिकिर गरे । क्वालिटी म्यानेजमेन्ट सिस्टम, एपीओको छात्रबृत्तिमा विभिन्न देशमा गुणस्तर ब्यवस्थापनको अध्ययन गरेका थापाले भनेका छन्, ‘काठमाडौंको ब्यवस्थापन पाँच वर्ष हामीलाई दिनुहोस् । यो महानगर विरामी छ, हामी निको पार्नेछौं । र, यसलाई तंग्रिएको र स्फूर्ति भरिएको महानगर फिर्ता गर्नेछौं ।’

त्यस्तै महानगरकी स्वतन्त्र उम्मेदवार रिङ्कु श्रेष्ठले महानगरबासी कोभिडको महामारीमा जटिल समस्यामा परेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा जनताको जीवन संकटमा परेकोले उम्मेदवारी दिएको उल्लेख गरिन् । त्यस्तै उनले महानगरका चार प्राथमिकता सेवा र सुरक्षा, वातावरण, बिकास र व्यवसाय तथा संस्कृति र सम्पदा रहेको बताइन् ।

लामो समय नर्सिङ पेसाको अनुभव सम्हालेकी उपमेयरका प्रत्यासी श्रेठले स्वास्थ्य सेवा कमजोर भएको हुनाले महानगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिएकी छन् । उनले स्वास्थ्य ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आएकी छन् ।

महानगरभित्रको आर्थिक अनियमितताविरुद्ध लड्ने

सोही अवसरमा जनस्वास्थ्य क्षेत्रका स्वतन्त्र उम्मेदवारहरुले महानगरको चार खम्बे कार्यनीतिमा सेवा सुरक्षा वातावरण विकास र ब्यवसाय तथा संस्कृति र सम्पदाको विभिन्न कार्यक्रम र योजना सार्वजनिक गरेका छन् ।

स्वतन्त्र उम्मेदवारहरुको समूहले काठमाडौंका सार्वजनिक सम्पदा, सार्वजनिक सम्पति र पूरातात्विक महत्वका क्षेत्रहरुमा नै पुगेर वस्तुस्थितिलाई बाहिर ल्याउने बताएका छन् । महानगरवासीहरुले न्यूनतम सेवा समेत नपाएका र विगतका मेयर तथा ब्यवस्थापकहरुले महानगरको सम्पति हिनामिना र दूरुपयोग गरेको आरोप लगाएका छन् ।

दलका उम्मेदवारहरुले जनताको स्वार्थ भन्दा पनि दलगत स्वार्थ र आर्थिक फाइदामा केन्द्रित हुने गरेको उनीहरुको भनाइ छ । महानगर पालिकाले नागरिकहरुसँग उठाएको कर तथा राजश्वसमेत खर्च गर्न नसकेर बैंकमा राखेको र आधा भन्दा बढी बेरुजुमा देखिएको हुँदा महानगरभित्रको आर्थिक अनियमितता र राजनीतिक मिलेमतोको पर्दाफास गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV