१३ बैशाख २०७९, मंगलवार

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष असिम राईले गाउँपालिका अध्यक्षमा पुनः उम्मेदवारी दर्ता गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनय दर्ताको अन्तिम दिन सोमबार (हिजो) निर्वाचन अधिकृतको कार्यालय पुगेर राईले पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेवारी दर्ता गरेसँगै राईले भनेका छन्, ‘समृद्ध थुलुङ दूधकोशी गाउँपालिका बनाउने महाअभियानमा बाँकी रहेका जनताहरुको सपना र आकांक्षालाई पूरा गर्न, आम गाउँपालिकावासी जनताहरुको भावनालाई सम्मान गर्दै पुनः उभिएको छु एकपटक । विश्वास गर्नुस् विकास, निर्माण, जनसेवासहित सम्पूर्ण रुपमा आकर्षणको केन्द्र बन्दै उचो उभिनेछ थुलुङ दूधकाशी ! बाँकी काम र सेवाबाट ।’

को हुन् असिम राई ?

गाउँपालिका अध्यक्षका लागि पुनः उम्मेदवारी दर्ता गराएका असिम राई नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका संयोजक समेत रहेका छन् । आफ्नो पाँच वर्षे कार्यकालमा गाउँपालिकाको समग्र (स्वास्थ्य, शिक्षा, यातायात, खेलकुद, सामाजिक, आर्थिक) बिकास र समृद्धिका लागि देखाएका सक्रियताका कारण चर्चित छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएसँगै राईले पालिकाभर गरेका काम उदाहरणीय छन् । पालिकाभर निर्माणाधीन विभिन्न बिकास आयोजना र कामहरु सम्पन्न गर्नुका साथै नयाँ योजनाहरु कार्यन्वयन गर्दै समृद्ध थुलुङ दूधकोशीको सपना साकार गर्नका लागि गाउँपालिका अध्यक्षमा पुनः राई निर्वाचित हुनु आवश्यक रहेको स्थानीयहरुको भनाइ छ ।

जानकारी अनुसार स्थानीय जनता र पार्टी कार्यकर्ताको दबाबका कारण राईले पुनः अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै गाउँपालिको उपप्रमुखमा पनि निवर्तमान उपप्रमुख सविता राईले उम्मेदवारी दर्ता गराएकी छन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचत राईले यस पटक माओवादी केन्द्रबाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेस नेतृ राईले केही दिन अगाडि मात्रै माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक असिम राईलगायतले पार्टीमा स्वागत गरेका थिए ।

कुन वडामा को ?

थुलुङ दूधकोशी गाउँपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन् । माओवादी केन्द्रबाट थुलुङ दूधकोशीको वडा नम्बर १ मा जनक बस्नेत, वडा नम्बर २ मा युजन बस्नेत, वडा नम्कर ३ मा राजु राईले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय थुलुङ दूधकोशीका अनुसार वडा नम्बर ४ मा हर्कबहादुर राई, वडा नम्बर ५ मा चन्द्रबहादुर राई, वडा नम्बर ६ मा मोहनकुमार राई, वडा नम्बर ७ मा भोजराज कार्की, वडा नम्बर ८ मा राजेश राई र वडा नम्बर ९ मा सनकुमार तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

LIVE TV