१३ बैशाख २०७९, मंगलवार

काठमाडौँ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुल १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी उक्त संख्या उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

हिजो सोमबारसम्म मनोनयन दर्ताको समय थियो । आज मंगलबार बिहानसम्मको अद्यावधिक तथ्यांकअनुसार देशभरिका सबै स्थानीय तहबाट उक्त संख्यामा उम्मेदवारी दर्ता भएको हो । जसमध्ये नगरपालिका (महानगर तथा उपमाहानगर समेत) प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी उपप्रमुख पदका लागि २ हजार ९ जनाको उम्मेदवारी परेको छ ।

अयोगका अनुसार गाउँपालिका अध्यक्ष पदमा ३ हजार २६४ जना र उपाध्यक्ष पदमा २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वडाअध्यक्ष पदको उम्मेदवारीमा पनि धेरैको आकर्षण देखिएको छ । वडाध्यक्षका लागि ३२ हजार २१७ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी संख्यामा भने वडा सदस्यका उम्मेदवार रहेका छन् । वडामा खुला सदस्यका लागि ४९ हजार २३९ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्य र दलित सदस्यमा क्रमशः २३ हजार ५२१ र २१ हजार २२१ जनाको मनोनयन दर्ता भएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

LIVE TV