१२ बैशाख २०७९, सोमबार

काठमाडौं । ‘नेपाली कांग्रेसको सांसद हुँ, शेरबहादुर देउवासँग डाइरेक्ट सम्पर्क छ’ भन्दै तोकिएको समयभन्दा अघि नै पासपोर्ट निकाल्ने धन्दामा सक्रिय रहेकी एक महिला स्टिङ अपरेसनमा परेकी छन् ।

न्यूज २४ टिभीको कार्यक्रम ‘सिधा कुरा जनतासँग’को स्टीङ अपरेसनमा परेकी उनलाई प्रहरीमा बुझाइएको छ ।

तोकिएको समयभन्दा अघि नै पासपोर्ट निकाल्ने धन्दामा सक्रिय रहेकी र आफ्नो नाम मीना विश्वकर्मा बताउने महिलाले राहदानी विभागसम्म नेक्सन स्थापित गरेको उनका कार्यहरुबाट समेत खुल्न आएको छ ।

पासपोर्ट निकाल्न अहिले सुरुमा राष्ट्रिय परिचय पत्र बनाउनु पर्छ । त्यसपछि अनलाईन फर्ममा राष्ट्रिय परिचय पत्रको नम्बरसमेत राखेर सम्मिट गर्नुपर्छ । त्यसपछि अननलाईनमै राजस्व बुझाउने मिति तोकिन्छ ।

तोकिएको मितिमा राष्ट्रिय परिचय पत्र, नागरिकता प्रमाणपत्र, अनालाईन फर्मको प्रिन्ट कपी लिएर राहदानी विभागमा तोकिएको राजस्व बुझाउनु पर्छ ।

अधिकांशले राजस्व बुझाउने डेट एक महिना पछि मात्रै पाउँछन् । अर्थात राहदानी बनाउन सामान्यतः एक महिना लाग्छ । विश्वस्त स्रोतले हामीलाई १० हजार रुपैयाँ बुझाउने हो भने यी बिचौलियाले तीन दिनमै पासपोर्ट निकालि दिन्छन् भन्ने सूचना दिएको थियो ।

उक्त सूचनालाई आधार बनाएर कार्यक्रम ‘सीधा कुरा जनतासँग’को टिम पासपोर्ट बनाउन खोज्ने व्यक्तिको कागजात र साथमा १० हजार रुपैयाँ लिएर विश्वकर्मालाई भेटेको थियो ।

पैसा बुझाएपछि तोकिएको मिति भन्दा अगावै राजस्व तिर्ने र राहदानी हात पार्ने काम सम्भव छ कि छैन भन्ने प्रमाणित गर्न स्टिङ अपरेसन गर्नै पर्ने बाध्यता भयो ।

योजना अनुसार नै हाम्रो टोलीका एक सदस्य मीना विश्वकर्मालाई पटक–पटक भेट्न पुगे । झन्डै १५ दिनदेखि यी विचौलियालाई पैसा दिने हाम्रो प्रयास वैशाख ६ गते मात्रै सफल भयो ।

तनहुँकी विश्वकर्मा थरकी एक महिलालाई राहदानी विभागले मे २४ अर्थात जेठ १० गतेको डेट दिएको थियो । जेठ १० मा ती महिलाले राहदानी विभाग पुगेर राजस्व बुझाउने र त्यसको तीन दिनमा पासपोर्ट पाउने सरकारी प्रक्रियामा १० हजार विचौलियालाई दिँदा कसरी छिटै काम गर्छ ? भन्ने हामीलाई बुझ्नु थियो ।

त्याति मात्रै नभइ विचौलियालाई बुझाएको रकमको भिडियो खिच्न, पैशा बुझाउन हाम्रो टिम गोंगबु चोक पुगेको थियो । मीना विश्वकर्माले टिमको सदस्यलाई गंोगबु चौकको शिव मन्दिर अगाडि आउनू भन्ने खबर दिएकी थिइन् ।

उनले भनेको स्थान र समयमा हामी पुग्यौं । सामान्य भलाकुसारी पछि हाम्रो टिम सदस्यले पासपोर्टको अनलाईन फर्म र १० हजार रुपैयाँ आफूलाई ‘माननीय हुँ’ भन्ने मीना विश्वकर्मालाई बुझाए ।

पासपोर्ट बनाउन चितवनबाट आएकी विश्वकर्मा थरकी महिलालाई भोलिपल्ट आफैसँग लिएर राहदानी विभाग जाने र तीन दिनमा पासपोर्ट हात लगाइ दिने मीनाले हामीसँग वाचा गरिन् । १० हजार रुपैयाँ र कागजात दिएर हामी चाहिँ फर्कियौं ।

वैशाख ७ गते बुधबार मीना विश्वकर्मा र पासपोर्ट बनाउने महिलाबीच हामीले नै सम्पर्क नम्बर आदान प्रदान गराइ दियौं । उनीहरु ट्याक्सी चढेर विभाग तर्फ गए भन्ने सूचना पाउँदा हाम्रो टिमका सदस्य त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगिसकेका थिए ।

राहदानी विभागमा लाइनमा बसेका सर्वसाधारणको पालो मिच्दै मीना विश्वकर्माले राजस्व तिरिदिइन् । त्यो भन्दा अनौठो त के भयो भने ३२ दिन पछाडिको डेट दिइएको फर्मलाई मीनाले गएकै दिन राजस्व बुझाउने अवस्थामा पु¥याइ दिइन् ।

सर्वसाधारणले यस्तो काम कुनै पनि हालतमा गर्न सक्दैनन् । मीनाको नेक्सन राहदानी विभागका हाकिमदेखि कर्मचारीसम्ममा रहेछ भन्ने यो तथ्यले पनि पुष्टि गर्छ ।

मीनाको यो पुरानो धन्दा रहेछ । मीनाका बारेमा हामीलाई सूचना दिने स्रोतको दावीअनुसार उनी यो काम लामो समयदेखि गर्दै आएकी छिन् । विभागमा पनि उनले यस्तै खाले सेटिङ मिलाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV