११ बैशाख २०७९, आईतवार
  • ललिता साह,

सप्तरी । सप्तरीको महदेवा गाउँपालिकाको अध्यक्ष पदमा फौजदारी अभियोग लागेका ४२ वर्षीय मोहम्मद हजरतले मनोनयन दर्ता गराएका छन् । मनोनय दर्ताको पहिलो दिन (आइतबार) मोहम्मद हजरतले नेकपा (एस)बाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

महदेवा–४ का मोहम्मद सद्दाम जाहेरी अनुसार सप्तरी प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा २०७८ मंसिर २९ गते पक्राऊ गरेको थियो । मुद्दा अनुसन्धान गर्ने निकाय इलाका प्रहरी कञ्चनरूप सप्तरीको मुद्दा नम्बर ७९ तथा सप्तरी अदालत फाँट नं. ६, मुद्दा नं. ७८ (सीएल) ०१८५ को मिसिल अनुसार हजरतमाथि ज्यान मार्ने मुद्दा चलाइएको देखिन्छ ।

उक्त मुद्दामा जिल्ला अदालतको पछिल्लो सुनुवाईले गत पुस १९ गते हजरत अदालतबाट एक लाख २५ हजार धरौटी तिरेर तत्कालको लागि छुटेका जिल्ला प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी गराएका छन् ।

मनोनय दर्ताको पहिलो दिन महदेवा गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सुनिल मण्डल र नेकपा (एस)बाट मोहम्मद हजरत गरी दुई जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै दुईले उपाध्यक्षमा र दर्जन बढीले वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत शालिग्राम काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV