११ बैशाख २०७९, आईतवार
  • ललिता साह

सप्तरी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न सप्तरीका दलहरूमा उत्साह देखिएन। निर्वाचन आयोगले प्रथम र दोस्रो चरण गरी वैशाख ११ र १२ गेतका लागि उम्मेदवारी दर्ताको मिति तोके पनि दलहरुमा ‘आज होइन भोली’ भनेर कुरेर बसेको देखियो ।

आइतबार उम्मेदवारी दर्ताको पहिलो दिन कुनै दलमा उत्साह नदेखिए पनि सप्तरीका १८ वटै स्थानी तहमा मनोनयन दर्ता प्रक्रिया अघि बढेको छ । जिल्लाका सबै गाउँपालिका, नगरपालिकामा वैशाख ८ गते नै स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतहरु मनोनयन दर्ताका लागि पूर्ण तयारीका साथ बसेका छन् ।

जिल्लाको बोदेबर्साइन नगरपालिकामा दलहरुले मनोनयन दर्ताका लागि फारामहरू लगिसकेका छन् तर दर्ता भने एउटै दलले नगरेको त्यहाँ खटिएका निर्वाचन अधिकृत तोमनाथ उप्रेतीले बताए ।

उनले भने, ‘राजनीतिक दलहरुलाई उम्मेदवारी मनोनयन दर्ताका लागि दुईदिने समय छुट्याइएको छ । तर, अहिलेसम्म मनोनयन दर्ताका लागि कुनै दलहरु आएका छैनन् । विगतझैँ मनोनयन दर्ता स्थलमा एकैदिन भीडभाड हुने देखिएको छ ।’

सप्तरीका विभिन्न स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतहरुका अनुसार राजनीतिक दलहरूमा चुनावी उत्साह देखिएको छैन । उम्मेदवारी दर्ताको पहिलो दिन आइतबार केही दलहरु उम्मेदवारी दर्ता गर्न आएका छन् तर, उनीहरुमा चुनावी उत्साह भने देखिएको छैन ।

आइतबार सप्तरीको महदेवा, तिरहुत गाउँपालिकालगायतमा जनमत पार्टी, नेकपा समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरुआएर मनोनयन दर्ता गराएको महदेवा गाउँपालिकाका निर्वाचन अधिकृत शालिग्राम काफ्लेले जानकारी दिए।

उनले भने, ‘निर्वाचन आयोगले मनोनयन दर्ताका लागि सबै प्रक्रिया पूरा गरे पनि उम्मेदावारी दर्ता गर्ने पहिलो दिन दलहरुमा खासै उत्साह देखिएन । भोलि एकदिन मात्रै थेग्नै नसक्ने गरी भीडभाड हुने देखियो ।’

आयोगको निर्वाचन तालिकाअनुसार आफू बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताका लागि बनाइएको कार्यालयमा बस्ने खड्क नगरपालिकाका निर्वाचन अधिकृत मोहमद मुन्नाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV