११ बैशाख २०७९, आईतवार

प्युठान । शनिबार साहित्य परिषद् प्युठानको नवौं अधिवेशन प्युठानको विजुवारमा नयाँ कार्यसमिति चयन गर्दै सप्पन्न भएको छ । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गरेको छ । ।

सोही अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानद्वारा लिखित ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ विमोचन पनि सम्पन्न गरिएको छ । प्युठान नगरपालिकाका मेयर अशोक्कुमार कक्षपति , उपमेयर शान्ता आचार्य र दाङवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यसहित नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा.डा. गोपीन्द्र पौडेललगायतले कृति विमोचन गरेका थिए ।

समालोचक प्रधानको यो बालसाहित्य समालोचनाको छैटौं कृति हो । कृतिको समीक्षा गर्दै लेखक टोपाराम आचार्यले कृति अत्यन्त महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा प्युठानबाट राष्ट्रिय रूपमा योगदान पुर्‍याउने नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा.डा. गोपीन्द्र पौडेल, साहित्यकार पद्मप्रसाद शर्मा र भूपेन्द्र सुवेदीलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा प्राडा पौडेलले प्युठानको नेपाली साहित्यमा विशिष्ट योगदान भएको बताए। उनले साहित्य परिषद्मार्फत १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरे।

बालसाहित्यकार विजयराज आचार्यले प्युठानले धेरै विशिष्ट लेखकहरू जन्माएको बताउँदै सबै प्युठानी साहित्यकारहरू सहभागी हुनेगरी बृहत् साहित्य सम्मेलनको आयोजनाको आवश्यकता औंल्याए।
साहित्य परिषद् प्युठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमोद प्रधान, युवराज भण्डारी र विमला खनालले कविता पाठ गरेका थिए । सोही अवसरमा नारायण पाण्डे द्वारा लिखित आरोग्य दर्पण पुस्तकको समेत विमोचन गरियको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV