११ बैशाख २०७९, आईतवार

काठमाडौं । लामो समयदेखि शिक्षण पेशामा आवद्ध भोजकुमार धमलाको पहिलो कृति ‘द सेल्फिस सिटी’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमकाबीच धमलाको कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण गरिएको हो ।

धमलाको ‘द सेल्फिस सिटी’ लोकार्पण कार्यक्रममा उपस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोरा पद्मप्रसाद देवकोटाले नेपालमा अंग्रेजी साहित्य पनि राम्रो लेखिन थालेको महुसस भएको बताएका छन् । बजारमा उपलब्ध अन्य अंग्रेजी भाषाको पुस्तक भन्दा धमलाको ‘द सेल्फिस सिटी’ फरक रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘पुस्तकमा समेटिएका कविताहरू अर्थपूर्ण र मनन् गर्न बाध्य बनाउने खालका छन् ।’

त्यस्तै कार्यक्रममा उपस्थित प्रा.डा. अरूण गुप्तोले पनि धमलाको ‘द सेल्फिस सिटी’ व्यङ्ग्यात्मक शैलीमा पेचिलो शब्दहरुको प्रयोग भएको बताएका छन् । धमलाको ‘द सेल्फिस सिटी’ले परम्परागत लेखनमाथि प्रहार गर्दै पहिचानको विचार विमर्श गराउन सघाउने प्रा.डा. गुप्तोको भनाइ छ ।

यसका साथै प्रा. केशल सिग्देलले पनि नेपालमा नेपाली पुस्तक प्रकाशन गर्न गाह्रो भइरहेको अवस्थामा अंग्रेजी भाषाको पुस्तक निकाल्नु आफैमा ठूलो उपलब्धि रहेको बताए ।

कार्यक्रममा लेखक धमलाले पुस्तक लेखनका बारेमा आफ्नो अनुभव सुनाउँदै विभिन्न खालका परिवेशको भोगाइलाई ‘द सेल्फिस सिटी’मा चित्रण गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV