११ बैशाख २०७९, आईतवार

सुर्खेत । मुलुकमा संघीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ ।

आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६\०७८\०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो ।

सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भुपेन्द्र थापाले जानकारी दिनुभयो । “परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ,” उहाँले भन्नुभयो, “प्रदेश निजामती तथा स्थानीय सेवाअन्तरगत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो ।”

ती मध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षकको परिचालन गरिएको उहाँले बताउनुभयो ।

आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले संघीयताको इतिहासमा पहिलो पटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताउनुभयो ।

आफ्नै सरकार अन्तरगत गठित प्रदेश लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरुलाई संघीयताको अनुभूति गराएको उहाँको भनाइ थियो ।

आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV