१० बैशाख २०७९, शनिबार
  • युवराज आचार्य,

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र एउटै भएको बताएका छन् । राप्रपाले झापाको मेचीनगरमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘हेर्दा कांग्रेस, एमाले, माओवादी छुट्ट–छुट्टै पार्टी देखिएता पनि व्यवहारमा एउटै हुन् । यी पार्टीकै कारण अहिले देश संकटमा परेको छ ।’

त्यस्तै उनले कार्यकर्ता भेटघाट तथा नवप्रवेशीहरुलाई स्वागत गर्न झापा पुगेका अध्यक्ष लिङदेनले तीन ठूला दल काँग्रेस, एमाले र माओवादीका कारण देश असफल राष्ट्र बन्ने खतरा बढेको बताए । साथै उनले देशलाई माया गर्ने, देशमा परिवर्तन चाहनेहरु राप्रपामा आउने लहर चलेको र राजनीतिलाई पेशा ठान्ने र कमाउ धन्दामा लागेकाहरु अरु पार्टीमा लाग्ने अभियान सुरु भएको बताए ।

कांग्रेस, एमाले, माओवादीलगायतका विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए । अन्य पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा लक्ष्मण बुढाथोकी, धनमाया गौतम, गोकुल अधिकारी, शेखर निरौला, पंकज निरौला, रिजाप धिमाल, अशोक श्रेष्ठलगायत रहेका छन् ।

साथै सोही कार्यक्रममा राप्रपा मेचीनगरले स्थानीय तहका लागि मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी घोषणा समेत गरेको छ । राप्रपाको नगर प्रमुखमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईको नाम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV