१० बैशाख २०७९, शनिबार

महोत्तरी । उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिनुभएको छ ।

पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गर्नुभएका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खानुभएको छैन ।

जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे (फर्सी, लौका, घिरौँला, करेला, बोडीआदि) मुख्य तरकारी बाली हुन् ।

खेती गर्न थालेर धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आई पुगेको यादवको अनुभव छ ।

पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ ।
खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने यादव अब त विषादीले पनि किरा चिन्न छाडेको बताउनुहुन्छ । “उ त्यहाँ भण्टाको बोट हेर्नोस्, कति थरीका दबाइ (विषादी) छरीसके, केही टेरेको छैन”, बारीका केही पात ओइलिँदै गएका भण्टाका बोट देखाउँदै यादवले भन्नुभयो, “सल्लाह दिने कोही जेटी, जेटिए (कृषि प्राविधिक) पनि भेटिँदैनन्, के गर्ने होला रु”

मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप हुने गरेको उहाँको अनुभव छ ।

“म यहीँ हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैन्थे, यी दबाइ पनि थिए कि थिएनन् ? अहिले त यी थरिथरिका किरा र रोगले हैरान नै पारेका छन् ।”

पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झँदै उहाँले अचेल भने कैयन थरिका झार उम्रने र त्यसलाई मास्न दबाइ नै प्रयोग गर्ने गरेको बताउनुभयो ।

पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झँदै उहाँले पछिल्ला वर्षमा क्रमशः समयमा पानी नपर्ने, कहिले बेमौसममै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखु खेती हुँदै अहिले नगद आर्जनका लागि आफू तरकारी खेतीमा लागेको बताउनुभयो ।

पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षमा मेल खान छाडेपछि खेती पनि बदलिँदै जानुपरेको यादवको भनाइ छ ।

पछिल्ला १५÷२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ (सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम) हाल्नु परिरहेको यादवको थप चिन्ता छ । यसको ठ्याक्कै कारण थाहा नभए पनि बस्ती बढ्दै गएर वन फाँडिनु, कलकारखाना बढ्नु र जताततै नदीमा बालुवा, ढुङ्गा निकाल्न ठूलठूला मेसिन (उत्खननमा प्रयोग गरिने यान्त्रिक उपकरण) चल्न थालेपछि यस्तो भएको हुनसक्ने उहाँको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV