८ बैशाख २०७९, बिहीबार

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भुलेर पनि प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिने भनेका छन् ।

बिहीबार बसेको केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले प्रमुख शक्ति भई अघि बढेको बताउँदै भुलेर पनि संसद विघटन गलत थियो नभन्न नेताहरुलाई ओलीले भने ।

‘केही केही साथीहरूले यस्सो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ । यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।’

प्रधानमन्त्री हुँदा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । ओलीले संसद विघटन गरेपछि उक्त कदमविरुद्ध चौतर्फी विरोध र आन्दोलन भएको थियो । तर, ओलीले संसद विघटन भुलेर पनि विरोध नगर्न भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV