८ बैशाख २०७९, बिहीबार

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा टुंग्याएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पाँच दलीय गठबन्धनका मुख्य चार दललाई भाग पुग्ने गरी महानगर र उपमहानगरको विभाजन गरेको हो ।

तीन महानगर कांग्रेसलाई, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई एक–एक सिट दिने सहमति भएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपको मेयरमा साझा उम्मेदवार दिनेछ । त्यस्तै कांग्रेसले वीरगंज, भरतपुर र पोखरा महानगरमा उपमेयरमा उम्मेदवारी दिनेछ ।

माओवादी केन्द्रले भरतपुर महानगरको मेयर र ललितपुर महानगरको उपमेयरमा उम्मेदवारी दिनेछ भने एकीकृत समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयरमा साझा उम्मेरदवार दिनेछ ।

जसपालाई वीरगंञ महानगरको मेयर र विराटनगर महानगरको उपमेयर दिने सहमति भएको छ । गठबन्धनमै आवद्ध रहेको राष्ट्रिय जनमोर्चाले भने महानगरको मेयर र उपमेयर दुवैमा भाग पाएन ।

यता, उपमहानगरमा पनि जनमोर्चा हेरेको हेर्‍यै भएको छ । ११ उपमहानगरमा जनमोर्चाले मेयर र उपमेयर कुनैमा भाग पाएन । सहमतिअनुसार कांग्रेसले सात, माओवादी केन्द्रले दुई, एकीकृत समाजवादी र जसपाले एक-एक उपमहानगरमा मेयर पदमा उम्मेरदवारी दिनेछन् ।

कांग्रेसलाई धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगरको मेयर दिने सहमति भएको छ । जितपुर सिमारा, घोराही र हेटौँडा उपमहानगरमा भने कांग्रेसले उपमेयरमा साझा उम्मेदवारी दिने छ ।

माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरको मेयरमा उम्मेदरवारी दिनेछ । त्यस्तै माओवादी केन्द्रले धरान र धनगढी उपमहानगरको उपमेयरमा उम्मेरदवारी दिने समहति भएको छ ।

त्यस्तै एकीकृत समाजवादीले हटौँडा उपमहानगरको मेयरमा उम्मेरदवारी दिनेछ भने इटाहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ ।

जसपाले जनकपुर उपमहानगरको मेयर पाएको छ भने कलैया र नेपालगञ्ज उपमहानगरको उपमेयरमा उम्मेरदवारी दिने सहमति पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV