
काठमाडौं । हरेक नयाँ वर्षको वैशाख ८ गते न्यूज-२४ टेलिभिजन परिवारका लागि विशेष रहने गर्दछ ।
वैशाख प्रकृतिले नयाँ पालुवा हाल्ने महिनामा मात्र नभई पात्रो परिवर्तन गरेर प्रत्येक नयाँ वर्षलाई स्वागत गर्ने मुहान महिना पनि हो । यही पहिलो महिनाको आठ गतेलाई रोजेर यो मुलुकमा उदाएको सञ्चारको वाहक हो न्यूज २४ टेलिभिजन । २०६७ साल वैशाख ८ गतेदेखि नेपाली दर्शकमाझ उपस्थित भएको नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गतको टेलिभिजन च्यानल न्यूज २४ टेलिभिजनले हरेक बर्ष आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै लगेको छ ।
आज हामी १२ वर्षको दुःख–सुखको यात्रा पार गरेर १३औं वर्षमा प्रवेश गरेका छौँ । १२ वर्षअघि नेपाली आकाशमा न्यूज २४ टेलिभिजन पनि देश र जनताको पक्षमा सत्य तथ्य सञ्चारको संकल्प लिएर स्थापना भएको थियो । राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालसहित आम जनताको र आवाजविहीनहरुको आवाजलाई हामीले सदैव प्राथमिकतामा राख्यौँ र राखिरहने छौँ ।
नेपाली समाजमा सञ्चार माध्यमप्रति अपार विश्वास छ र त्यो कायम राख्न हामी हरसम्भव मेहेनत गर्ने छौँ । त्यही मेहेनत र दर्शकको विश्वासको फल हो – हामी १२ पूरा गरेर १३औँ वर्षको यात्रामा पाइला राख्दा आम जनताको विश्वासको वाहक बन्न सफल भएका छौँ । यस्का लागि हामी आम जनता र शुभेच्छुकप्रति कृतज्ञ पनि छौँ ।
मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षाका लागि न्यूज ट्वान्टीफोरले पाइला कहिले डगमगाएन, नेपाली जनतामा आइपरेको समस्यामा जनताकै साथमा रहेर ती समस्याहरुसंग लड्यौँ । मुलुक र समाजमा देखिएका विसंगति र विकृति बढार्न कुनै कसर बाँकी राखेनौं । विकास निर्माणको पक्षलाई प्राथमिकतामा राखेर अघि बढदा समाजमा भए गरेका सकारात्मक पक्षलाई जहिले पनि काँधमा हालेर होस्टेमा हैसे गर्यौँ।
मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नु अहिले आम नेपालीको दायित्व हो । संविधानको मर्म र जनताको चाहनाको सम्मान गर्दै संघीयताको स्थायीत्व, संघीय, प्रदेश र स्थानीय तहको संरचनालाई अझ बलियो पार्नु अहिले हाम्रो लक्ष्य नै बनेको छ ।
सरकारी कार्यालयका वेथिति, भ्रष्टाचार, समाजमा देखिएका कुरीति र कुसंस्कारविरुद्ध निरन्तर आवाज उठाइरहने न्यूज २४ले जनताको समस्यालाई सदैव आफ्नै समस्या ठान्दै आएको छ ।
मुलुकको विकासका लागि हरेक पक्षको भूमिका उत्तिकै हुन्छ । त्यसैले पनि सबै पक्षका विषयहरु हाम्रा समाचार तथा कार्यक्रमहरुमा प्राथमिकतामा परे । राजनीतिक मात्र नभई सामाजिक, सांस्कृतिक, आध्यात्मिक गतिविधि हाम्रो नजरमा जहिले पनि सम्मानका साथ पर्दै गर्दा स्वास्थ्य, संगीत, कला, साहित्य,खेलकुद, चलचित्र क्षेत्रलाई पनि उत्तिकै महत्व दिने गरेका छौं ।
विश्वसनीयता, निष्पक्षता र सटिकता सञ्चार जगतको सौन्दर्य नै हो । यही सौन्दर्य कायम राखेर हामीले खेलेको भूमिकाप्रति समाजका सबै तहबाट पाएको साथले हाम्रो यात्रा जहिले पनि गर्विलो बन्यो । हाम्रो यही प्रस्तुति र दर्शकको अपार मायाले नै सबै तहमा पुगेका छौँ ।
न्यूज २४ टेलिभिजनका हरेक प्रहरका न्यूजहरु ,सीधा कुरा जनतासंग, कल ट्वान्टीफोर, पावर न्यूज, इस्युज अफ द डे, इ टक, फिल्मी संसार, अनलाइन संस्करण न्यूज २४ नेपाल डट टिभी र न्यूज २४ हेल्प डेस्कले आठै प्रहर मुलुक र मुलुकवासीमाथि देखाएको निष्ठा निरन्तर रहने अठोट पनि गर्दछौँ ।
स्थापनाको १३औं वर्ष गाँठ मनाइरहँदा हामी अझ प्रतिबद्ध, निष्ठावान र जवाफदेही बनेर अघि बढ्ने प्रण गर्दछौं । यस अवसरमा हामी हाम्रा आदरणीय दर्शक, विज्ञापनदाता , केबल प्रदायक संस्थाहरु एवं शुभेच्छुकमा हार्दिक आभार व्यक्त गर्दछौं । धन्यवाद !