७ बैशाख २०७९, बुधबार
  • ललिता साह,

सप्तरी । नेपाल–भारतबीच ६८ वर्ष अगाडि भएको सम्झौता अनुसार पश्चिमी कोशी नहरको बाटो निर्माण नभएको भन्दै सप्तरीका जनता आन्दोलनमा उत्रिएका छन् । स्थानीय युवा नेता आमेन्द्र यादवले कोशी सम्झौता रद्द गर्, नेपाल–भारत सरकार मुर्दावाद, बाटो तत्काल निर्माण गर,लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर यहाँका स्थानीयहरुले बुधबारबाट आन्दोलन सुरु गरेका जानकारी गराएका हुन् ।

उनीहरुले गाउँ पस्ने नहरको मुख्य बाटोसमेत अवरुद्ध गरी सवारी साधन आवतजावतमा रोक लगाएका छन् । स्थानीय युवा सञ्जिव विक्रम सिंहले भनेका छन्, ‘कोशी सम्झौता अनुसार भारतीय पक्षले जीर्ण रहेको बाटो निर्माण नगरिदिँदा डाक्नेश्वरी नगरपालिकाका स्थानीय विगत २० वर्षदेखि आन्दोलनरत छन् ।’

उनका अनुसार पश्चिमी नहरको बाटो निर्माणका लागि सप्तरीको विष्णुपुर गाउँपालिकादेखि पश्चिम डाक्नेश्वरी नगरपालिकासम्मका हजारौँ जनताले दुई दशकदेखि पटक–पटक संघर्ष र दबाबका कार्यक्रमहरु गरेका छन् । तरपनि सम्बन्धित निकायको कानसम्म उनीहरुको आवाज पुग्न नसकेको उनको भनाइ छ ।

प्रदेश सांसद विदेश्वर यादव विक्कीका अनुसार पछिल्लोपटक वर्षाले हिलाम्य बाटोका कारण सवारी साधन आवतजावत अवरुद्ध हुने गरेको छ । डाक्नेश्वरीका युवा महिला बुद्धिजीवीहरूको पहलमा फेरिपनि आन्दोलन थालिएको हो । नागरिकहरुको आवतजावतमा सहजता होस् भन्ने उदेश्यका साथ बाटो निर्माण हुनुपर्ने उनीहरुले माग राखेका छन् ।

आन्दोलनमा उत्रिएका नागरिकहरूलाई सम्बोधन गर्दै प्रदेश सांसद यादवले यस विषयमा सरकारलाई जानकारी गराउने र डिप्लोम्याटिक च्यानलबाट बाटो निर्माणको पहल गर्न आफूले सरकारसँग आग्रह गर्ने प्रतिबद्धता जनाएका छन् ।

वि.सं. २०११ सालमा नेपाल–भारतबीच कोशी सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार, कोशी बाँध, पूर्वी नहर बाटो, पश्चिमी नहरलगायतका संरचनाहरू मर्मत सम्भारदेखि लिएर निर्माणसम्मका काम एक सय ९९ वर्षसम्म भारत सरकारले गर्नुपर्ने उल्लेख छ ।

LIVE TV