७ बैशाख २०७९, बुधबार

एजेन्सी । इथियोपियाको राजधानी अडिस अवावास्थित रुसी दूतावासमा अहिले दर्जनौं युवाहरूको भिड लाग्ने गरेको छ । युक्रेनमा लड्नका लागि रुसी सरकारले सेनामा भर्ती खुला गरेको हल्ला चलेपछि उनीहरू त्यसरी त्यहाँ जम्मा भएका थिए ।

तर, पछि दूतावासका महिला प्रवक्ता मारिया चेर्नुखिनाले इथियोपियामा रुसका लागि सेनामा भर्ती नखुलाइएको स्पष्ट पारेकी थिइन् । उनले बीबीसीलाई बताएकी छन्, ‘इथियोपियाली युवाहरूको भिडले रुसप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । रुसको समर्थनका लागि थुप्रै व्यक्ति दूतावास सम्म आइपुगेका छन् । तीमध्ये केहीले हामीलाई आफूहरू चाहेको मद्दत गर्न तयार रहेको बताएका थिए । तर हामी सेना भर्ती गर्ने निकाय हैनौं ।’

अधिकांश इथियोपियालीहरू त्यहाँ आवश्यक व्यक्तिगत कागजात लिएर उपस्थित भएका थिए । त्यहाँ उपस्थित एक जना युवकले बीबीसीलाई भनेका छन्, ‘सैनिक वा अन्य कुनै जागिर खाएर राम्रो पैसा कमाउने आशा गरेको छु । साथै मलाई रुस मनपर्छ पनि ।’

अन्य केहीले रुसमा निकै राम्रो तलव पाइन्छ भन्ने सुनेर आएको बताएका थिए । रुसले गत २४ फ्रेब्रुअरीदेखि युक्रेनमाथि आक्रमण गरेको विषयमा संयुक्त राष्ट्र संघमा प्रस्तुत प्रस्तावनामाथि मतदान हुँदा अनुपस्थित रहने केही मुलुकमध्ये इथियोपिया पनि एक हो । मतदानमा दक्षिण अफ्रिकालगायत करिब १७ अफ्रिकी मुलुक अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV