६ बैशाख २०७९, मंगलवार

काठमाडौं । टिकटक स्टारका रुपमा उदाएर मोडलिङको क्षेत्रमा होमिएका गीतकार तथा मोडल हुन् जिम्बे राई । धनकुटाका राईकै शब्द सिर्जनामा तयार पारिएको ‘माया बिछट्टै’ गीतको भिडियो रिलिज गरिएको छ ।

रिलिजसँगै भिडियोमा अभिनय गरेका दुवै कलाकार लक्ष्मी बर्देवा र राईको अभिनयको चर्चा सुरु भएको छ । रंगमञ्चबाट निखारिएर आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट खारिएका मोडल राईले ‘माया बिछट्टै’मा साँच्चिकै बिछट्टैको माया भिडियोमा देखाउन सफल भएका छन् ।

सार्वजनिक गीतमा बहुचर्चित गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । गीतमा पछिल्लो समयका चर्चित अनि लोकप्रिय संगीतकार ऋषी खड्काको संगीत सिर्जना रहेको छ भने विशाल निरौलाको एरेन्ज रहेको छ ।

गीतकार सँगसँगै मोडलिङमा पनि राम्रो सम्भावना देखाएका मोडल राईसँगै चर्चित अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको भिडियोमा एक प्रेमीमिल जोडीको रोमाञ्चक प्रेम कहानीलाई निर्देशक बिक्रम चौहानले देखाएका छन् ।

पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक चौहानसँगै लामो समयदेखि सहकार्य गर्दै आएका मोडल राईको ‘ए जिन्दगी’ बोलको गीतले राम्रो चर्चा कमाएको थियो । सोही गीतबाट पनि हौसिएका मोडल राईले एकपछि अर्को गर्दै नयाँ–नयाँ सिर्जनाहरु बजारमा ल्याइरहेका छन् ।

सार्वजनिक गीतमा प्रकाश खड्काको छायाङ्कन तथा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ । भिडियो मोडल राईकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV