६ बैशाख २०७९, मंगलवार

काठमाडौं । अत्याधुनिक सेवा र सुविधासहित राजधानीमा नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । आरामदायी सुविधा सम्पन्न सिनेमा पारखीहरुकोका लागि काठमाडौंको दरवार मार्गमा रहेको दरवार मलमा ‘दरवार सिने म्याक्स’ सञ्चालनमा आएको हो ।

सिनेमा हेर्दा लक्जरियस महसुस गराउने उदेश्यका साथ सीमित व्यक्तिहरुलाई मात्र सामेल गराएर नयाँ वर्षको अवसरमा हल सञ्चालनमा ल्याएको दरवार सिने म्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी दिए ।

गुण ग्रुपद्वारा निर्माण भएको दरवार मलमा सञ्चालित दरवार सिने म्याक्स सिनेमा हल क्यूएफएक्सले ब्यवस्थापन गरेको हो । सिनेमा हलभित्र दुइ वटा हल रहेको छ । ५० र ५३ जनाको सिट क्षमता भएको सो हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रीन र अर्डर अनुसारको खाना र खाजाको बारसहितको सुविधा समेत रहेको छ ।

सिनेमा हेर्न आउने दर्शकहरुलाई आफू बसेकै ठाउँमा आफ्नो इच्छा अनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरी खाजा बार सञ्चालनमा ल्याइएको उनले बताए । दर्शकले बसेकै सिटबाट अर्डर गरेर खाना र खाजा खादै सिनेमाको मज्जा लिन पाउने सुविधा ल्याएको भनाइ प्रबन्ध निर्देशक शाक्यको रहेको छ ।

सिनेमा हेर्दै मदिरा खानेहरुका लागि छुट्टै बारको व्यवस्था रहेको हलमा बियरसहित विभिन्न मदिराहरु सेवन गर्दै सिनेमा हेर्ने समेतको सुविधा रहेको छ । वर्षौंदेखि सिनेमा जगतमा सेवा गर्दै आएको गुण ग्रुपका प्रबन्ध निर्देशक शाक्यका अनुसार दरवारमार्गमा रहेको दरवार मलसँगै सिनेमा पारखीहरुलाई पृथक सुविधा दिन खोजिएको हो ।

अन्य हल भन्दा फरक सेवा दिने उदेश्यका साथ सञ्चालनमा आएको सो सिनेमा हलमा दैनिक ९ वटा शो देखाइने र टिकटको मूल्य १००० देखि १२०० रुपैयासम्म निर्धारण गरिएको छ । गुण ग्रुपले विगत २५ वर्षदेखि ग्वार्कोमा गुण सिनेमा हाल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV