४ बैशाख २०७९, आईतवार

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा भोली (बैशाख ५ गते)देखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो ।

श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा संवादमार्फत् समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । उनले श्रमजीवि पत्रकारहरु र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हटन नसक्ने समेत स्पष्ट पारे ।

अध्यक्ष पोखरेलले भने, पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्छ । श्रमजीवि पत्रकारहरुको हितमा काम गर्ने सन्दर्भमा यसका गुनासोहरुको तथ्याङ्कहरु छन् । त्यो तथ्याङ्कलाई सम्बोधन गर्ने क्रममा हामी आन्दोलनमै जानुपर्छ भन्ने निष्कर्ष निकाल्न एक वर्षको कार्यकालको समिक्षापछि बाध्य भएका छौं । त्यसकारण भोलीदेखि आन्दोलनको कार्यक्रम तय गरेका छौं । भोली र पर्सी कान्तिपुर टेलिभिजनमा धर्नाको कार्यक्रम छ ।’

उनले थपे, ‘त्यसपछि अन्य संस्थाहरु, जहाँ श्रमको शोषणा भईराखेको छ भनेर लिखित जानकारी हामीलाई आएको छ । हामीले संवादमार्फत् सो समस्या समाधान गर्ने सन्दर्भमा तदारुपता देखाइएको छैन । ती संस्थाहरुमा आन्दोलनमा जाँदैछौं । महासंघको मुख्य दायित्व प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्नु नै हुन्छ । यी दुई वटा दायित्वबाट कुनै पनि हालतमा हामी पछाडि हट्दैनौं भन्ने स्पष्ट सन्देश दिन चाहन्छौं ।’

प्रेस स्वतन्त्रताका लागि ड्राफ्ट भएको कतिपय कानूनहरु प्रेस स्वतन्त्रतामैत्री नभएको र राज्यसँगको लडाई पनि सँगसँगै जारी रहने उनको भनाइ छ । महासंघका अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुले श्रम शोषण भएको लिखित जानकारी महासंघमा रेकर्ड गराएको उल्लेख गर्दै उनीहरुको माग सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

महासंघले प्रेस स्वतन्त्रता विरोधी खालका कतिपय ड्राफ्ट भएको कानूनहरुको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV