४ बैशाख २०७९, आईतवार
  • रामगोपाल तमखु

भक्तपुर । बिस्केट जात्राको ८ औं दिन आज भक्तपुरमा द्यो स्वगं बिएगु पुजा (सगुन जात्रा) मनाइँदै छ । आज बिहानैदेखि भक्तपुरका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी सगुन जात्रा मनाईएको हो ।

दिन भरी चल्ने यो जात्रा मनाउन हिजो सबै देवी देवताहरुलाई द्योछें, वा मन्दिराबाट ल्याएर नगरपारिक्रमा गर्ने बाटो पर्ने स्थानको पाटीहरुमा राख्ने गरिन्छ ।

बेलुका सबै देवीदेवताहरुमा भक्तजनले चढाएको सम्हेबजी टोलका सबैलाई प्रसाद वितरण गरि बाजागाजा सहित आ आफ्नो मन्दिर लगिने चलन छ ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका छन् ।

द्यो स्वगं बिएगु पुजा (सगुन जात्रा)को लागि हिजो देवी देवताहरुलाई सगुन पुजा गर्न आ–आफ्ना द्यो छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो ।

जात्राका क्रममा सहभागीहरुले ती देवी देवताहरुलाई आ–आफ्ना गच्छे अनुसारका परिकार चढाउने गरीन्छ । यो पुजा प्राचिन कालदेखि नै संचालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाईन्छ ।

बिस्केट जात्राका क्रममा विध्न बाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताहरुको पूजा गर्ने प्रचलनलाई द्यो स्वगं बिएगु पुजा (सगुन जात्राकाे]) रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद ओम धौभडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV