३ बैशाख २०७९, शनिबार

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन् ।

उनले एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँडको यो बेलामा त्यो कुराको ख्याल गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरे । पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दाबी नगर्ने पनि बताए ।

तर, एमालेसँग प्रभाव भएका मान्छेहरु आफ्नो पार्टीसँग नजिक भएकाले जित हासिल गर्न आफ्नो पार्टीलाई सहज हुने उनको तर्क छ । अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए ।

उनले सत्तारुढ दलहरुबीच स्थानीय तहको टिकट बाँडफाँडको विषयमा छलफल भइरहेको पनि बताए । अध्यक्ष नेपालले भने, ‘एमालेले जितेको ठाउँमा पहिलो हक हाम्रो लाग्छ । पहिलो प्राथमिकता हाम्रो हो । त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ । किन, एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन । यो कुरालाई ख्याल गर्नुस् । अवश्य पनि यस बीचमा अरु पार्टीहरु अगाडि बढेका छन् भने थोरै मत अन्तरले जितहार भएको छ भने त्यो कुरालाई ध्यानमा हामी राख्नेछौं । त्यसो हुनाले मत भारको कुरा पनि तपाई सुनिरहनु भएको छ ।’

उनले थपे, ‘थोरै मत अन्तरले जितको कुरालाई पनि हामी अवश्य ध्यानमा राख्नेछौं । हामी यत्तिकै दावा गर्दैनौं । हामी जित्ने सुनिश्चित गर्नेगरी दावा गर्नेछौं । त्यसका लागि हामीले महानगरपालिकाको निम्ति कस्तो तरिका अपनाउने, उपमहानगरपालिकाको लागि कस्तो तरिका अपनाउने, जिल्ला सदरमुकामहरुका पालिकाहरुको निम्ति कस्तो तरिका अपनाउने ? अलगअलग प्रदेशको निम्ति कस्तो तरिका अपनाउने ? यी हामीले छलफल चलाईरहेका छौं । अब अन्तिमअन्तिम विन्दूमा हामी पुग्दैछौं ।’

उनले फेरि भने, ‘आज ३ गते भइसकेको छ । ११ गते नोमिनेशन गर्नुपर्नेछ । त्यसअघि नै उम्मेदवारहरुको टुंगो लगाई सक्नु पर्दछ । अब कुनै पनि पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ, त्योसँग हामी चुनाव जान सक्छौं । पाँच वटै दलको बीचमा सहमती भएन भने जुन दलसँग सहमती हुन्छ, । र हामीलाई आत्मविश्वास हुन्छ । हामी एक्लै पनि जित्न सक्छौै भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्दछ ।’

त्यस्तै अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताहरुको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आबद्ध अन्य दलहरुको ध्यानाकर्षण गराएका थिए ।

LIVE TV