३ बैशाख २०७९, शनिबार

सर्लाही । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेशी जनतालाई भ्रममा पारेर, विकासका कामहरुलाई अवरोध गरेर, मधेसी जनतालाई अल्मल्याएर मधेसवादी दल मसिहा बन्न खोजेको आरोप लगाएका छन् । शनिबार जिल्लाको मलंगवामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेशवादी दल नक्कली मुक्तिदाता रहेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘मधेशी जनताले भोगेका समस्यालाई समाधान नगरेर मधेसका मसिहा भन्नेहरु नक्कली मुक्तिदाता हुन् । त्यस्तै उनले मधेशवादीहरुले एमालेविरुद्धको प्रचार अभियान चलाइरहेको उल्लेख गर्दै भने, ‘एमालेको विरोध गर्दा गर्दै मेरो नेतृत्वको सरकार बनेपछि २०७२ सालमा २० वर्षदेखि बन्न नसकेको हुलाकी सडक बनाउने निर्णय गरेको थिँए । १० अर्ब रुपैँया हुलाकी सडकका लागि छुट्याएको सबैलाई जानकारी गराउन चाहन्छौं ।’

उनले थप भनेका छन्, ‘मधेस होस् कि पहाड, हिमाल होस् कि तराई, पूर्व होस् कि पश्चिम, देशभरका तमाम जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक भत्ता दिने काम एमालेले गरेको छ ।’ त्यस्तै उनले मधेशी जनताको नागरिकताको समस्या सामाधान गर्ने काम पनि एमालेले नै गरेको बताए ।

संसद अवरोध गर्दा समेत अध्यादेश ल्याएर भएपनि मधेशी जनताले भोगिरहेका नागरिकताको समस्या सामाधान गर्न खोजेको उल्लेख गर्दै भने, ‘अहिलेको गठबन्धनका सरकार र गठबन्धनमा रहेका मधेशका मसिहाहरु अध्यादेश कहाँ गयो ? भनेर बोल्न सकेको छैनन् । अलिकति लाज भएको भए उनीहरु अहिले सरकार छोडेर बाहिर हुन्थ्ये ।’

उक्त कार्यक्रममा अध्यक्ष ओलीले जसपाबाट विजयी भएका कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायलगायत विभिन्न पार्टीबाट आएकाहरु पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV