३ बैशाख २०७९, शनिबार
  • प्रा. डा. श्याम जोशी

काठमाडौँ उपत्यकाभन्दा बाहिर मच्छिन्द्रनाथ जात्रा केवल ऐतिहासिक सहर दोलखामा मात्र हुन्छ। भक्तपुरमा बिस्केट जात्रा, काठमाडौँमा सेतो मच्छिन्द्रनाथको जात्रा र पाटन (ललितपुर)मा रातो मच्छिन्द्रनाथको जात्रा भएजस्तै दोलखामा पनि रातो मच्छिन्द्रनाथको जात्रा हुन्छ।

मच्छिन्द्रनाथलाई करुणामय बोधिसत्व अवलोकेतेश्वर भनिन्छ। मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिएकोले सायद खेतिपातीको लागि पानी माग्न यो जात्रा बैशाख महिनामा मनाउने गरिएको होला र र त्यस्पछि पानी पर्न थाल्छ भन्ने जनविस्वास छ।

दोलखा सहरको भूबनोट हेर्दा कसैले पनि बडेमानको मच्छिन्द्रनाथको रथलाई सहर परिक्रमा गराइन्छ भन्ने सहजै पत्याउँदैनन्। यकपटक एकजना साथीले टिभीमा दोलखा सहरको ठाडो, घुमाउरो र साँघुरो सडकमा रथ तानेको देखेर अचम्म मान्दै मसँग जिज्ञासा राखेका थिए। पाटनको बुङमतीमा वि.सं. ६३२ मा नै लामो खडेरीबाट राहत पाउनका लागि वर्षा गराउन भनी मच्छिन्द्रनाथ प्रतिस्थापन गरेको मानिन्छ। दोलखामा भने पाटनका बज्राचार्यले वि.सं. १५७५ मा मात्र बुङमतीबाट रातो मच्छिन्द्रनाथ ल्याई दोलखा सहरको ड्वाकुलुङा टोलमा मन्दिर बनाएर प्रतिस्थापन गरेको मानिन्छ। उतिबेला दोलखामा बन्दब्यापार गर्न पाटन र भक्तपुरका साहुमहाजन बस्ने गर्थे। बुङमतीबाट ल्याएकोले दोलखामा पनि मच्छिन्द्रनाथलाई पाटनमा जस्तै ‘बु–ग्देउ’ भनिन्छ, जसमा देउको अर्थ– देवता हो।

ड्वाकुलुङ्गा टोलस्थित मच्छिन्द्रनाथको मन्दिर

उहिले मच्छिन्द्रनाथको रथ बनाउन गुठी जग्गाको व्यवस्था थियो। सो अनुसार दोलखा सहरपुर्वका केही गाउँबाट प्रत्येक वर्ष थामी जातिका मानिसहरु रथ निर्माण गर्न आवश्यक पर्ने काठ, बाँस, डोरी, वनमाला आदि लिएर आउथे । रथ बनाएर जान्थे। उसबेला रथ चारपाङ्ग्रे र ३२ हात लामो हुनुपर्ने मान्यता थियो। यो जात्रामा रथ तान्ने परम्परा आर्थिक कठिनाइले गर्दा २०३९ सालदेखि बन्द थियो । पछि कालिन्चोक युवा क्लबको सक्रियतामा जनसहभागिताबाट सो जात्रा २०५५ सालदेखि पुनः चालू गरिएको थियो।

बैशाख पुर्णिामादेखि ९ दिनसम्म चल्ने सो जात्राको पहिलो दिन अर्थात् पुर्णिमाको दिन मच्छिन्द्रनाथलाई दूधले स्नान गराई पूजा गरिन्छ। सो दिन महिलाहरु व्रत बस्छन् र राति बत्ती बाल्छन्। दोस्रो दिन पिङल टोलबाट गुठियार र गुभाजु बाजागाजासहित ड्वाकुलुङास्थित मन्दिरमा आएर मच्छिन्द्रनाथलाई बोकिलग्छन् र पिङल टोलमा राखिएको रथमा रथारोहण गराइन्छ। रथमा ठूलो लामो काठ राखिएको हुन्छ, जस्लाई स्थानीय भाषामा ‘दर्माशी’ भनिन्छ। सो दर्माशीमा भैरवको मुखुन्डो राखेर भेडाको बलि दिइन्छ। मच्छिन्द्रनाथको पूजारी गुभाजु हुनाले बौद्धमार्गीहरुको जात्राजस्तो भान परे पनि अधिकांश हिन्दू रहेका दोलखाबासीहरुले अत्यन्त उत्साहका साथ यो चाड मनाउछन्।

तेस्रो दिन द्वितियादेखि करिब ३ बजेतिर पिङल टोलबाट रथ तान्न सुरु हुन्छ। रथमा बसेर कसैले ‘होस्टे’ भन्छ र अरुले ‘हैसे’ भनेर तानेर लैजान्छन्। यसरी तानेको पहिलो दिन नक्छे टोल, दोस्रो दिन कोर्छ टोल, तेस्रो दिन टसिचा टोल, चौथो दिन माथिल्लो टोल, पाचौँ दिन दुङल टोल र छैठौं दिन पुनः पिङल टोल आइपुग्छ। रथ बिग्रने जस्तो कुनै बिध्न बाधा नभएमा ६ दिनमा सहर परिक्रमा सकिन्छ। कथम कदाचित रथ बिग्रेमा अपसकुन भएको मानिन्छ र भेडा बलि दिएर क्षमापूजा गरिन्छ। जुन टोलमा मच्छिन्द्रनाथको रथ पुग्छ, त्यो टोलको गुठियारले टोलको तर्फबाट स्वागतस्वरुप पूजा गर्ने प्रचलन छ, जसलाई ‘ट्वाल पूजा’ भनिन्छ। त्यस्तै यो चाडको विशेषता के हो भने यस चाडमा जुन टोलमा मछिन्द्रनाथ पुग्छ, सोही टोलको चाड हुन्छ। त्यस टोलका बासिन्दाहरुले आफन्तहरूलाई भोज खान बोलाउने वा भोज वा स्थानीय भाषामा ‘व्याकुन’ पठाउने प्रचलन छ। यो जात्राभपर केटाकेटीहरुले चाकु पकाएर बनाइने ‘तिलौरी’ (जस्लाई स्थानीय भाषामा चाक्सला भनिन्छ) बेच्ने गर्छन्। बाल्यकालमा म पनि चाक्सला बनाएर बेच्ने गर्थेँ।

माथिल्लो टोल तिर लान रास्निको उकालो तिर उकाल्ने प्रयत्न गर्दै भक्तजन

अन्तमा सातौँ दिन बाजा बाजाएर र भजन गाएर ड्वाकुलुङास्थित मन्दिरमा मच्छिन्द्रनाथ भित्राइन्छ। सो दिन ड्वाकुलुङा टोलबासीहरु आफ्नो चाड पनि परेको कारण र आफ्नो टोलको देवता घर फर्कने भएर विशेष प्रफुल्ल हुन्छन् । हाम्रो चाडकै दिन मेरो जन्मदिन पनि पर्ने भएकोले म त अत्यन्तै खुसी हुन्थेँ बाल्यकालमा।

टोलका महिलाहरू लाममा बसेर फूलमाला चढाएर अत्यन्तै श्रद्धापूर्वक पूजा गरेर मच्छिन्द्रनाथको स्वागत गर्छन्। मन्दिरको प्राङ्गणमा पूजारी गुभाजुले विधिपूर्वक मच्छिन्द्रनाथको पूजा गरेपछि मन्दिरभित्र प्रवेश गराउने क्रममा मन्दिरको द्वारमा बसेर सबैले सुन्ने गरेर ठूलो स्वरमा ‘यो रथयात्राको प्रभावले सबै जीवजन्तु, सबै संसार र तत्कालीन नेपाल नरेशको उद्धार गरिदिनुसू भनेर पुकारेर श्लोक पढ्छन् । र, मन्दिरभित्र प्रवेश गराउँछन् । अनि जात्रा समाप्त हुन्छ। पाटन का गुभाजुले मच्छिन्द्रनाथ प्रतिस्थापन गरेकोले होला श्लोक अहिलेसम्म पनि नेपाल भाषामा नै पढ्ने गरिन्छ।

टसिचा टोलबाट माथिल्लो टोल लान रास्नीको ठाडो उकालोमा रथ तान्नुपर्ने भएकोले सो दिन विशेष बन्दोबस्त गर्नु पर्ने हुन्छ। साथै अनुभवी र धेरै मानिसको आवश्यकता हुन्छ। सो दिन जात्रा अत्यन्त रोचक हुने भएकोले दर्शनार्थीको भीड हुन्छ। यातायातको सिवधाले गर्दा हालका वर्षहरुमा पाटनलगायत उपत्यकाका मानिसहरूको घुइँचो हुन्छ । पार्किङ पाउन समेत धौ धौ हुन्छ। यात्रुहरुलाई ‘राइती’ अर्थात् तीनधारादेखि खर्पनमा पानी ओसारेर खुवाउने, विशेष बाजा बजाउने र भजन गाउनेलगायत काममा उपत्यकातिरबाट आएका श्रद्धालुहरु सिक्रिय हुन्छन्।

यसपाली बैशाख ३ गते देखि ११ गतेसम्म सो जात्रा हुँदैछ। माथिल्लो टोलतिर तान्ने दिन ८ गते पर्छ। सो दिन हामी सबै सहभागी बनौँ र आफ्नो संस्कृतिको संरक्षण गरौँ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV