२ बैशाख २०७९, शुक्रबार
  • रितिक अधिकारी,

सर्लाही । जिल्लाको हरिवन नगरपालिकाका जनप्रतिनिधिहरुले आफूले प्रयोग गरेको सवारीसाधन फिर्ता गरेका छन् । आगामी स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी चैत २२ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार उनीहरुले बैशाख १ गतेदेखि कुनै पनि सेवा सुविधा नलिने र आफूहरुले प्रयोग गरेको सवारीसाधन नगरपालिकालाई फिर्ता गरेका हुन् ।

निर्वाचन आचारसंहिता लागू भएको र चुनावी चहल–पहल सुरु भएकाले जनप्रतिनिधिहरु माथि लाग्ने आरोप प्रत्यारोपलाई लक्षित गर्दै सरकारी सेवा सुविधा र सरकारी सवारीसाधन प्रयोग गर्दा नकारात्मक असर पर्ने भएकाले आफूहरुले बैशाख १ गते नै फिर्ता गर्ने भनिएको भएतापनि बिदा परेका कारण आज शुक्रबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निरौलालाई हस्तान्तरण गरिएको नगर प्रमुख गणेश प्रसाद प्रसाईंले बताए ।

हरिवन नगरपालिकाका ११ वटा वडाहरु मध्ये ५ जना वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नै प्रयोग गरेका थिएनन् । हरिवन नगरपालिका–७ देखि ११ सम्मका वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नलिएका र १ देखि ६ सम्मका वडाध्यक्षहरुले सरकारी सवारीसाधन प्रयोग गरेका हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिए ।

हरिवन नगरपालिकाका प्रमुख प्रसाईंले स्कोरपियो, उप प्रमुख रेणुका पौडेलले टाटा सुमो र ६ जना वडा अध्यक्षहरुले सरकारी मोटरसाइकल प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV