२ बैशाख २०७९, शुक्रबार
  • ललिता साह,

सप्तरी । नयाँ सालको प्रारम्भसँगै आज बैशाख (२ गते) तराई क्षेत्रमा घर–घरमा हर्षोल्लासका साथ सिरुवा (जुडशितल) मनाइदैछ । आज विहानैदेखि हरेक वर्ष मनाइने सिरुवा पर्वमा हिन्दू धर्म अनुसार आमाबुवा र परिवारका ज्येष्ठ सदस्यले परिवारका अन्य सदस्यलाई टाउकोमा चिसो पानी छ्यापेर आशिर्वाद दिने गरिन्छ ।

आजको दिन खानाका अनेकौं परिकारहरु बनाएर परिवार ईष्ट–मित्रसहित सबैले खाने चलन रहँदै आएको छ । यसो गर्नाले बैशाखको गर्मीबाट मुक्त शीतल मनले जीवनमा अघि बढ्न वर्षको शुरुवातसँगै सँधैको लागि उर्जा र उत्प्रेरणा थपिने र वर्षैभर मिठो खान लाउन सकिने विश्वास रहँदै आएको छ ।

आजकै दिन सप्तरीको प्रसिद्ध मन्दिर शम्भूनाथमा लाग्ने एक महिने मेलाको शुरुवात हुन्छ । सिरुवाको दिन मानवलगायत पृथ्वीको सबै प्राणी, बोटविरुवामा अनिवार्य पानी हाल्ने गरिछ । यही मान्यता संसारका संहारकर्ता भवगवान् शिवलाई पनि शीतलता प्रदानको लागि जल अर्पण गरिन्छ । भगवान शिवलाई जल अर्पण गर्न शम्भूनाथ मन्दिरमा विहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

आजको दिन हजारौ श्रद्धालु शम्भूनाथ मन्दिर आएर बाबा शम्भूलाई जल अर्पण गर्ने गरेका छन्,र यहाँ ठूलो मेला पनि लाग्ने गरेको छ । वैशाख १ गतेबाट सलहेश फूलबारी, शम्भूनाथ, बराहपोखरी, पतारीलगायतका यस भेगका प्रसिद धार्मिक स्थलहरुको यात्रा गर्दै सर्वसाधारणहरुले हर्षोलासका साथ सिरुवा मनाइरहेका छन् ।

एक हप्ता अगावैदेखि अत्यन्तै उत्साहका साथ स्थानीय बजारहरुमा किनमेल गर्ने सर्वसाधारणको घुइचो देखिएको छ । सिरुवाका अघिल्लो दिन तरकारी किन्न जिल्लाको सानादेखि ठूला हाटबजारमा सर्वसाधारणको भीड हुन्छ । दर्जनौं प्रकारको किनेको तरकारी सिरुवाको दिन पकाएर चुल्हा पूजा गरिन्छ ।

खास गरि पूर्वी तराईका राजवंशी, ताजपुरिया, गनगाई, माझी, थारुलगायत सबै जसो जातिको पर्व सिरुवा शुक्रबारबाट ३ दिनसम्म धुमधामले मनाउने चलन रहँदै आएको सप्तरीका थारु अगुवा महिला मालती चौधरीले बताइन् ।

सिरुवा साथीभाई तथा गाउँलेहरु भेला भई आपसमा पानी, हिलो र रंग दलेर मनाउने चलन छ । सामूहिक रुपमा सिरुवा खेल्ने, मेला बजार लगाउने तथा सिरुवा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने तयारी रहेको सप्तरी खडक नगरपालिका–४ का थारु युवा क्लवका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिए ।

वितेका दुई वर्ष सिरुवा पर्व आफ्नै घरभित्र सीमित रहेर मनाइएको स्मरण गर्दै राजविराज–८ की किरण यादव भन्छिन्, ‘लकडाउनले पोहोर–परारको सिरुवा पर्वमा मन्दिर समेत जान नदिएर खल्लो भएको थियो । तर यो वर्ष त आफन्त बोलाएर धुम्न गएर धुमधामले सिरुवा मनाउने तयारीमा छु ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV