२ बैशाख २०७९, शुक्रबार

कैलाली । कैलालीको जानकी गाउँपालिका-९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ । हत्या आरोपमा मनोज भण्डारीसहित चार जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा जानकी-९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।

टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा पुस ३ मा अर्जुनको शव भेटिएको थियो । अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV