२ बैशाख २०७९, शुक्रबार

काठमाडौं । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

बागमती प्रदेश संयोजक तथा कार्यसम्पादन समिति सदस्यसमेत रहेका श्रेष्ठलाई मेयरको आकांक्षी बनाउने पार्टी निर्णय गरेपनि औपचारिक घोषणा भने भएको छैन । पार्टीको निर्णयअनुसार आजभोलि नै औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा हुने श्रेष्ठले बताए ।

व्यवसायी एवं समाजसेवीसमेत रहेका श्रेष्ठ आफ्नो क्षेत्रमा लोकप्रिय छन् । लोकप्रियता, इमानदारिता र परिपक्वकताकै कारण श्रेष्ठलाई लतिलपुर महानगरपालिकाको मेयरमा उठाउने निर्णय गरिएको विवेकशील साझा पार्टीले जनाएको छ ।

श्रेष्ठ २०७४ को संघीय प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिएका थिए । त्यसबेला १७ दल चुनावी मैदान थिए । जसमा विवेकशील साझा पार्टी तेस्रो बनेको थियो । त्यसबेला भन्दा पनि अहिले ललितपुरमा विवेकशील साझा पार्टी बलियो बनेको श्रेष्ठको भनाइ छ ।

‘२०७४ सालमा हाम्रो वडा कमिटी बनेको थिएन’ उनले भने, ‘अहिले त वडा कमिटीहरु पनि बनेका छन् । त्यसैले पहिलेभन्दा अहिले हाम्रो पार्टी ललितपुरमा बलियो भएको छ ।’ आफ्नो नारा र प्रतिवद्धतालाई लिएर विवेकशील साझा पार्टीले चुनाव जित्ने उनको दावी छ ।

विवेकशील साझा पार्टीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सुलभ सेवाप्रवाह, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वद्र्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र व्यवस्थित पार्किङ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका चुनावी नारा अगाडि सारेको छ ।

तर, विवेकशीललाई चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने छ जबकि ललितपुर महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीले सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV