१ बैशाख २०७९, बिहीबार

त्रिशुली । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा आज आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौं, अरु गफ गर्ने र हल्लाखल्ला बढी गर्छन् । कांग्रेस काम गर्नमा व्यस्त हुन्छ । चुनावमा गफ गर्नेलाई नभई काम गर्ने पार्टीलाई जनताले विश्वास गर्नुपर्छ ।”

उनले नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरलाई देशका प्रसिद्ध १० शक्तिपीठमध्येको एक बनाउने प्रतिबद्धता जनाए । उनले भने, “मन्दिरको संरक्षणको लागि गुरु योजना बनाएर पुरातात्विक मापदण्डअनुसार आवश्यक संरचना निर्माण गर्नुपर्दछ ।”

दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा लामो समयदेखि रहेको गोसाईंकुण्ड घ्याङगुठीको समस्या, नुवाकोटको सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड जाने पदमार्गको व्यवस्थापन, जलविद्युत् आयोजना निर्माणले धार्मिक सम्पदामा पुग्ने असरप्रति सम्बन्धित पक्षलाई सजग गराउन सहयोग गर्ने प्रतिबद्धता सो अवसरमा उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV