
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले ‘सूर्य’ चिह्न विक्री हुने व्यवसायिक चिह्न हो र ? भन्दै प्रश्न गरेका छन् । नेता रावलले विहीबार ट्वीट गर्दै राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति आपत्ति जनाउँदै यस्तो प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’
त्यस्तै नेता रावलले ठूलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिह्न दिन नमिल्ने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’
बुधबार (हिजो) मात्रै नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको थियो । एमालेसँग ती दुई दलले अलग–अलगरूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
ती दलले देशभर सम्भव भएका स्थानमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने एमालेसँग राप्रपा नेपाल र परिवार दलबीच जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका स्थानमा सूर्य चिह्नमा निर्वाचनमा जाने सहमति भएको थियो । निर्वाचित भएपनि आफ्नै दलमा रहने उल्लेख गरिएको छ ।
विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे!के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र?यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!
— Bhim Rawal, PhD (@BhimRawal179) April 14, 2022