१ बैशाख २०७९, बिहीबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लिभरपुल युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सिटी एट्लेटीको मड्रिडसँग गोलरहित बराबरी खेलेर समग्रमा १-० को जित निकाल्दै सिटी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको १-० को जित नै सिटीलाई सेमिफाइनल पुग्न पर्याप्त रह्यो । एट्लेटीकोको मैदानमा भएको दोस्रो लेगमा बुधबार राती दुबै टोलीले गोल गर्न सकेनन् । केही राम्रा अवसर दुबै टोलीले गुमाएका थिए ।

अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरीमा रोकिएपनि लिभपुलले समग्रमा ६-४ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो ।
पहिलो लेगमा लिभरपुलले ३-१ को अवे जित निकालेको थियो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीका लागि ब्राजिली फरवार्ड रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गरे । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे ।

खेलको २१औं मिनेटमा कोनाटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई २-१ ले अघि बढाए । ६५औं मिनेटमा फिर्मिनोले नै गोल गर्दै लिभरपुल ३-१ को अग्रता दिलाए ।
७३औं मिनेटमा रोमन यारेमचुकले र ८२औं मिनेटमा डार्विन नुनेजले गोल गरेपछि खेल ३-३ को बराबरीमा टुंगियो ।

अब सेमिफाइनलमा सिटीले रियल मड्रिड र लिभरपुलले भिल्लारियलको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV