२८ चैत्र २०७८, सोमबार

काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘मिडिया कप फुटसल’ प्रतियोगितामा न्युज २४ नेपालले सानदार जित निकालेको छ ।

सोमबार बिहान नेस्नल स्पोर्टस् सेन्टर च्यासलमा भएको खेलमा न्युज २४ले इकागज डटकमलाई १७-० गोल अन्तरले पराजित गरेको हो । एकपक्षीय बनेको खेलमा न्युज २४ले पहिलो हाफमा ८ गोल गरेको थियो भने दोस्रो हाफमा ९ गोल थप्यो ।

आजै बिहान भएको अर्का खेलमा खेलकुद पत्रकार मञ्चले हम्रो सञ्चार डटकमलाई ५-३ गोल अन्तरले पराजित गरेको छ ।

क्वाटरफाइनलको पहिलो खेलमा न्युज २४ र खेलकुद पत्रकार मञ्च भिड्दै छन् । क्वाटरफाइनलको खेल आजै दिउँसो २ बजे हुनेछ ।

पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

आज र भोलि हुने फुटसल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । यस प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV