२६ चैत्र २०७८, शनिबार

काठमाडाैँ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिकको निधन भएको छ। कंगोमा खटिएको नेपाली सेनाको श्री क्युआरएफ (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत सुर्खेत गुर्भाकोट नगरपालिका–१४ का ३२ वर्षीय अनिल गुरुङको निधन भएको हो।

नेपाली शान्ति सैनिकहरूले त्यहाँका विद्रोही सशस्त्र समूहलाई निरुत्साहित गर्न पछिल्लो समय अपरेसन ‘बाली’ सञ्चालन गरेको थियो। सोहीअनुसार मंगलबार प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीले ‘कर्डन एन्ड सर्च’ कारबाही गरेर विद्रोहीको इलाका कब्जा गरेको थियो। त्यसपछि विद्रोहीहरूको जवाफी ‘चोरी’ फायरबाट गुरुङ घाइते भएका थिए। त्यसपछि उनको उपचारका क्रममा बुधबार निधन भएको हो।

विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए। पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत दीपेन्द्र बस्तीले ज्यान गुमाएका थिए। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV