२५ चैत्र २०७८, शुक्रबार

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा गेल्जेन शेर्पाको नाम सिफारिस गरिएको छ । विहीबार कांग्रेसको पालिका स्तरीय बैठकले थुलुङ दूधकोशी गाउँपालिका–९ को वडाध्यक्षमा शेर्पाको नाम सिफारिस गरेको हो ।

आकांक्षीहरु धेरै भएकाले पालिका स्तरीय बैठक बसेर वडाध्यक्षमा शेर्पाको नाम सिफारिस गरिएको बताइएको छ । वडाध्यक्षमा गौरव राई, दल बहादुर तामाङ, खेम नाछिरिङ र सुवास राई दाबेदार थिए । यही चैत २२ गतेसम्म जिल्लामा उम्मेदवारको नाम पठाइसक्नुपर्नेमा उनीहरु चारै जनाले आ–आफ्नो अडान नछाडेपछि पार्टीको पालिका स्तरीय बैठकले विकल्पमा शेर्पाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

उक्त बैठकमा थुलुङ दूधकोशी गाउँपालिकाका ९ वटै वडाका सभापतिहरु, संविधानसभा सदस्य गोकर्ण राई, थुलुङ गाउँपालिकाका सभापति भक्त बहादुर गुरुङ, निवर्तमान जिल्ला सभापति विनोद बाबु बस्नेतलगायत महाधिवेशन प्रधिनिधि, क्षेत्रीय प्रतिनिधि तथा स्थानीय नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

को हुन् गेल्जेन शेर्पा ?

थुलुङ दूधकोशी गाउँपालिका–९ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा सर्वसम्मत सिफारिस भएका गेल्जेन शेर्पा लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । लोखिमको बागुर निवासी शेर्पा पछिल्लो समय ‘हाम्रो गाउँ, हामी नै बनाऔं’ भन्ने मुल नाराका साथ सामाजिक कार्यमा लागिपरेका छन् ।

लोखिमको सार्वाङ्गीन् बिकासका लागि जस्तो सुकै समस्याको सामना गर्नका लागि तयार शेर्पा विशुद्ध सामाजिक संस्था ‘लोखिम सरोकार समाज’का अध्यक्ष एवं ‘लोखिम शेर्पा समाज’का सल्लाहकारसमेत रहेका छन् । सोही संस्थामार्फत् शेर्पाले लोखिमबासीका विभिन्न समस्याहरुलाई नियाल्दै र केही हदसम्म समाधान पनि गर्दै आएका छन् ।

‘राजनीति पेशा नभइ विशुद्ध सामाजिक सेवा हो’ भन्ने मान्याता राख्ने शेर्पाले लोखिमको बिकासका लागि आफूले जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV