२५ चैत्र २०७८, शुक्रबार

सोलुखुम्बु । स्थानीय तहको निर्वाचनका लागि सोलुखुम्बुमा सत्तारुढ पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्र निर्माण भएको छ । शुक्रबार सदरमुकाम सल्लेरीमा बसेको गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका लागि संयन्त्र निर्माण गरेको हो ।

जिल्ला स्तरीय संयन्त्र निर्माणसँगै सोलुखुम्बुमा स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ दलहरुको गठबन्धन हुने निश्चित भएको छ । बैठकले नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पा, नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समिति, सोलुखुम्बुका संयोजक असिम राई, नेकपा एकीकृत समाजवादी, सोलुखुम्बुका अध्यक्ष दोर्जी जाङबु लामा र जनता समाजवादी पार्टी, सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगर रहेको संयन्त्र निर्माण गरेको हो ।

बैठकपश्चात गठबन्धनले संयुक्त प्रेस वक्तव्य समेत जारी गरेको छ । निर्वाचनमा सत्तारुढ गठबन्धनमा सम्बद्ध दलहरुले गठबन्धनमा सम्बद्ध पाँच दलबाहेक अन्य दलसँग गठबन्धन गर्न नपाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै दलले आफ्नो तल्लो कमिटीहरुलाई चुनावी गठबन्धनका लागि निर्देशन गर्ने निर्णय गरेको छ ।

निर्वाचनमा गठबन्धनको उम्मेद्वारहरुलाई विजयी गराउनका लागि गठबन्धनमा सम्बद्ध दलहरुबीच आपसमा विश्वासको वातावरण निर्माण गरी अघि बढ्ने सहमति समेत बैठकले गरेको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाको संयोजकत्वमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट जिल्ला संयोजक असिम राई, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट जिल्ला अध्यक्ष दोर्जी जाङबु लामा र जसपाको तर्फबाट जिल्ला अध्यक्ष नरेन्द्र थापा मगर सहभागी रहेका थिए ।

पहिलो बैठकको संयोजन नेपाली कांग्रेस, सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बुले गरेसँगै आगामी बैठकहरुको संयोजन सबै दलका जिल्ला प्रमुखहरुले आलोपालोमा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV