२४ चैत्र २०७८, बिहीबार

काठमाडौं । सरकारले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका लागि २० जनाको नाम सिफारिस गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले विहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवाबाट ८ जना र १२ जनाको नाम राजनीतिक दलबाट सिफारिस गरिएको जानकारी गराए ।

मन्त्री खतिवडाका अनुसार कर्मचारी र नेताहरु मिलाएर राजदूत नियुक्ति सिफारिस गरिएको हो । जसमध्ये माओवादी केन्द्रको निर्वाचन आयोग प्रमुख विष्णुपुकार श्रेष्ठ, एकीकृत समाजवादीबाट मिलन तुलाधर, केशवराज पोखरेल, डिल्ली पौडेल, जसपाबाट नवराज सुवेदीलगायत रहेका छन् ।

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
राजनीतिक कोटाबाट राजदूतमा नियुक्ति सिफारिस भएका १२ जनामा मिलन तुलाधर–रसिया, कैलाश पोखरेल–अस्ट्रेलिया, डिल्लीराज पौडेल–मलेसिया, शान्ता रिजाल–इजराइल, जेपी प्याकुरेल–दक्षिण कोरिया, प्राडा रामसुरज राय यादव–डेनमार्क, नवराज सुवेदी–साउदी अरब, विष्णुपुकार श्रेष्ठ–चीन, दानबहादुर तामाङ–दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल–स्पेन र बासुदेव मिश्र–श्रीलंका रहेका छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीहरुमा नरेश विक्रम ढकाल, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तिर्थराज वाग्लेलाई राजदूतमा नियुक्ति सिफारिस गरिएको छ ।

उनीहरुमध्ये कसलाई कुन देशका लागि सिफारिस गरिएका हुन् भन्ने कुनै जानकारी भने गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV