२४ चैत्र २०७८, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । हिन्दूहरुको महान पर्वको रुपमा रहेको चैते छठ पर्व अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । वीरगञ्जको पर्यटकीय स्थल घडिअर्वा पोखरीलगायत यहाँका जलासयहरुलाई दुलही जस्तो सजाई छठ पर्व मनाइँदैछ ।

नगवा पोखरी, रानीघाट पोखरी, छपकैया पोखरी लगायतका स्थानहरुमा अहिले छठ पर्व मनाउने ब्रतालुहरु अस्ताउँदो सूर्यलाई अघर््य दिएर छठ पर्व मनाइरहेका छन् । चार दिनसम्म मनाइने यस पर्वको तेस्रो दिन वीरगन्जको विभिन्न जलाशयमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघर््य दिइ पूजाआजा गरेका हुन् ।

चैती छठ पर्व मनाउन यी जलासयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

छठ पर्वको तेश्रो दिन शुक्रबार साँझ व्रतालुहरुले सन्ध्याकालीन अघर््यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गरे । दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्ने गरिन्छ । त्यस्तै त्यसको भोलिपल्ट अर्थात् भोलि शनिबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरिन्छ ।

यस पर्वको पहिलो दिन बुधबार व्रतालुहरुले नहान खान अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोश्रो दिन बिहीबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए ।

राति अरवा अरबाइन (बिना नून हालेको) खानेकुरा खाएका थिए । त्यस्तै षष्ठीका दिन अर्थात् आज शुक्रबार साँझ अन्नबाट बनाइएका विभिन्न प्रसाद सहित जलासयमा पुगेका छन् ।

श्रद्धालुहरु ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हाती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेर पर्व धुमधामसाथ मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV