२४ चैत्र २०७८, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट शुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन् । विहीबार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियान कर्ताहरुलाई कुनै बहाना नगरी टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नजिकीरहेकोले विभिन्न बहानामा खोप अभियान भड्काउन खोज्ने भन्दै कुनै बहाना नगरी काममा लाग्नुपर्ने बताए । उनले नेपाल टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र भएको बताए ।

उनले यो अभियान भोलि (शुक्रबार)बाट देशव्यापी रुपमा ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्रमा सञ्चालन हुने पनि बताए । उनले यसअघि ११ प्रकारका खोप नेपालमा राष्ट्रव्यापी रपमा शुरु भइसकेको र अब टाइफाइड बिरुद्धको खोप लगाएसँगै नेपालमा १२ किसिमका खोप अभियान राष्ट्रव्यापी रुपमा शुरु हुने बताए ।

उनले यो अभियानमा लाग्ने अभियान कर्ताहरुलाई स्थानीय तहको निर्वाचनका कारण प्रभावित भयो भन्ने बहाना नबनाइ काम सम्पन्न गर्न पनि निर्देशन दिए । मन्त्री खतिवडाले भने, ‘विश्व स्वास्थ्य दिवसकै दिन पारेर हामीले टाइफाइडबिरुद्धको खोप सञ्चालन गर्ने देशव्यापी रुपबाट यो अभियान भोलिबाट सञ्चालन गर्ने र आज आज प्रधानमन्त्रीज्यूबाट यस खोपको हस्तान्तरण गर्ने, यो अभियान भोलिबाट देशव्यापी रुपबाट ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्र ५० हजार ठाउँमा हामी यो अभियानको रुपबाट सञ्चालन गर्दैछौँ ।’

उनले थप भने, ‘चैत २५ गतेबाट वैशाख १८ गते भनेको लगभग २४ दिन हामी सम्पूर्ण रुपबाट झन्डै ७५ लाख १५ महिनादेखि १५ वर्षसम्मको उमेरसमूहका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउने अभियानमा संकल्पबद्ध हुनलाई भेला भएका छौँ । हामी केही दिनभित्र अर्को एउटा खोप राष्ट्रव्यापी रुपबाट सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्दैछौं ।’

मन्त्री खतिवडाले अबको केही दिनमा अर्को एउटा खोप राष्ट्रव्यापी रुपमा सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।

LIVE TV