२४ चैत्र २०७८, बिहीबार

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गर्नुभयो ।

कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताउनुभयो । जुगल गाउँपालिका–५ को चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा उहाँको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका सभामुख सापकोटाले शिक्षाले नै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बद्ध पक्षलाई सभामुख सापकोटाले सुझाव दिनुभयो । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमूना विद्यालयमध्यको एक हो । सो अवसरमा विद्यालय परिवार र व्यवस्थापन समितिका तर्फबाट सभामुख सापकोटालाई विद्यालय भवन निर्माणको विशेष पहल र प्रयत्नका लागि आभार व्यक्त गर्दै संरक्षणका लागिसमेत पहल हुने विश्वास व्यक्त गरिएको थियो ।

सभामुख सापकोटा जुगल गाउँपालिका–२ गोल्चे बगरस्थित वडाकार्यालय परिसरमा आयोजना गरिएको ‘जनतासँग सभामुख’ कार्यक्रममा समेत सहभागी हुनुभयो । सो अवसरमा उहाँले जनताको भावनाको सधैँ सम्मान गर्ने बताउनुभयो । सभामुख सापकोटाले हाल स्तरोन्नति भइरहेको बलेफी जलविरे कात्तिके तेम्बाथान सडकखण्डको बलेफी खण्ड, हाल मर्मत सम्भार भइरहेको आँपबोटे जलविरे खण्ड र कालोपत्रको तयारी भइरहेको ढाँडे कात्तिके खण्डको निरीक्षण समेत गर्नुभयो ।

बागमती प्रदेश पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठसहितका सडक निर्माणमा संलग्न अधिकारीसँग निर्माणको अवस्थाबारे उहाँले जानकारी लिनुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल, सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवालसहित सम्बद्ध अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV