२३ चैत्र २०७८, बुधबार

काठमाडौं । कृषि उत्पादकत्व बृद्धिका लागि उन्नत जातका बीउ, मल खाद र कृषि औजार प्रयोगका बारेमा बृहत् छलफल गरी उचित निष्कर्ष निकाल्नका लागि तीन दिने गोष्ठीको आयोजना गरिएको छ ।

कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता रहेको छ ।

नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

तीन दिनसम्म हुने छलफलमा उन्नत जातका बीउबिजन, मल खाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुने साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए ।

नेपाल र भारतको भौगोलिक अवस्था करिब एकै प्रकारको रहेका कारण दुवै देशका वैज्ञानिकले एक अर्काका अनुभव आदानप्रदान गरेर किसानले अधिकतम लाभ लिन सक्ने उनले बताए । नेपाल सरकारले अनुदानको रासायनिक मलको आयात र बिक्री वितरण गर्ने जिम्मेवारी कर्पोरेसनलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV