२३ चैत्र २०७८, बुधबार

काठमाडौं । नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधबार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकम भित्रकै बरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।

सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताए ।

टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए । नेपाल टेलिकम नबुझेको मान्छेले यस संस्थालाई हाँक्न नसक्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आज दुई दिनदेखि नेपाल टेलिकममा एमडीको नियुक्ति हुँदै गर्दाखेरी नेपाल टेलिकममा बीसौँ वर्ष, तीसौँ वर्षसम्म काम गरेका व्यक्तित्वहरु हुनुहुन्छ । सिनियर सर, म्याडमहरु हुनुहुन्छ । यो संस्थामा आफ्नो जीवनको सम्पूर्ण लगानीहरुपनि लगाइसक्नु भएको छ । संस्था बुझेको, संस्थामा भिजेको र संस्थामा लगानी गरेको मान्छे र संस्थालाई सबैतिरबाट बुझेको मान्छे संस्था प्रमुख हुनुपर्छ ।’

उनले थप भनेका छन्, ‘र, नेपाल टेलिकम एक नम्बर संस्था हुनका लागि आजसम्म आइपुग्दा जुन अभियानहरु उहाँहरुले आफ्नो संस्थामा लगानीहरु पनि गर्नुभएको छ । संस्था एक नम्बर हुनका लागि यहीँको संस्था प्रमुख भएर पनि आजसम्म कायम रहेको कुराको कारणले आज बाह्य हस्तक्षेपका कुराहरु पनि आएका छन् । विभिन्न किसिमका सेटिङका कुराहरु पनि आएका छन् । हामी के चाहान्छौँ भने नेपाल टेलिकममा बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ ।’

नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV